२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ६८३ जना लाभान्वित

sajilo news
झापा
२०८१ चैत्र १९ गते , मंगलबार
भद्रपुरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ६८३ जना लाभान्वित

भद्रपुर । हरेक वर्ष बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आएको नेपाल निजामती कर्मचारी संगठन झापाले आज मंगलबार भद्रपुरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

झापाका सर्वसाधारण नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने उद्देश्यले सङ्गठनले सामाजिक उत्तरदायित्वअन्तर्गत नोबेल टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा भद्रपुर–१० स्थित वीरेन्द्र नमुना क्याम्पस परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए । संगठनका अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षतामा सम्पन्न संक्षिप्त समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले आफ्नै मुटुको जाँच गर्दै शिविरको उद्घाटन गरेका थिए ।

शिविर उद्घाटनका अवसरमा भद्रपुर नगरपालिका उपप्रमुख रमधा कार्की, प्रमुख प्रशासकीय अधिकृत, सुनिल निरौला, संगठनका केन्द्रीय उपाध्यक्ष युवाचन्द्र घिमिरे, केन्द्रीय सचिव तेजप्रकाश भण्डारी (टीपी), नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष तथा वीरेन्द्र नमुना क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टिकाराज ढकाललगायतको सहभागिता रहेको संगठन झापाका सचिव पूर्णचन्द्र मैनालीले जानकारी दिए । 

शिविरमा मुटु रोग, जनरल मेडिसिन, स्त्रीरोग, बाल रोग, हाडजोर्नी तथा नसा, नाक कान घाँटी, दन्त रोग, आँखा परीक्षण,शल्यक्रिया चिकित्सा सेवा, रेडियोलोजी, ल्याब परीक्षण सेवा रहेको र मुटु रोग विशेषज्ञ डा. रमजेश नेपाल, बाल मुटु रोग विशेषज्ञ डा. प्रतिभा यादव, जनरल मेडिसिन विशेषज्ञ डा. जितेन्द्रप्रसाद गुप्ता, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. प्रनेश चापागाईँ, बाल रोग विशेषज्ञ डा. कृष्ण यादव, नाक कान घाँटी रोग विशेषज्ञ डा. उत्सव श्रेष्ठ, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुभाष, दन्त रोग विशेषज्ञ डा. सचिन पौडेल,  ल्याब टेक्निसियन सरोज चाम्लिङ राई र प्रतिभा बस्ती तथा आँखासम्बन्धी सृष्टि चौधरीले सेवा प्रदान गरेको नोबेल हस्पिटलका मार्केटिङ अफिसर नवीन दाहालले जानकारी दिए । 

बिरामीहरूलाई परीक्षणअनुसारको औषधि पनि निःशुल्क रुपमा उपलब्ध गराइएको दाहालले बताए । शिविरबाट ६ सय ८३ सर्वसाधारणले लाभ लिएको संगठनका अध्यक्ष न्यौपानेले जानकारी दिए ।  त्यसमध्ये अधिकांशले एकभन्दा बढी सेवा लिएको पनि उनले बताए ।  

 

सम्बन्धित समाचार