२०८३ बैशाख ३ गते , विहीबार

चितुवाको मुखबाट नाति थुत्ने साहसी हजुरआमा

sajilo news
पत्रपत्रिका
२०८१ चैत्र २४ गते , आईतबार
चितुवाको मुखबाट नाति थुत्ने साहसी हजुरआमा

बर्दियाको गुलरिया नगरपालिका–५, बालापुर निवासी ५० वर्षीया गोवरी थरुनी चैत २० गते बुधबार घरदेखि दुई किलोमिटर पर रहेको केराबारीमा लगाइएको मास (थारू भाषामा उरुद) मा पानी लगाउन गइन् । खेतमै काम गरिरहँदा गोवरीका लागि खाना लिएर दिउँसो १ बजे उनका सात वर्षका नाति सिर्जन चौधरी आफ्नो साथी अर्पण थारूसँग खेततर्फ हिडे । केराबारीमा लगाइएको मासमा पानी सिँचाइ गर्दै गरेकी आफ्नी हजुरआमाभन्दा करिब ३० मिटर जतिको दुरीमा रसीको खटिया (चारपाई) राखिएको थियो ।

खटियामा सिर्जन खेलिरहँदा हजुरआमा सिँचाइकै काममा व्यस्त थिइन्  । यत्तिकैमा सिर्जन चिच्याएको आवाज गोवरीले सुनिन्  । ‘बुदी’ (हजुरआमा) भनेर चिच्याएका सिर्जनको चित्कार अरू बेलाको भन्दा फरक थियो । त्यत्तिकैमा ३० मिटर पर मात्र रहेकी हजुरआमा नाति भएको स्थानमा पुग्दा नाति देखिनन् । नातिलाई चितुवाले लगेको उनका साथीले बताएपछि उनी झसङ्ग भइन् । त्यति बेला चितुवाले त्यस स्थानबाट करिब ५० मिटर पर मकैबारीमा नातिलाई पुर्‍याइसकेको थियो । नाति नदेखेपछि हजुरआमा नातिलाई खोज्दै मकैबारीतर्फ दौडिइन् । 

त्यहाँ मकैको रुख ढलेर बाटो बनेको देखेपछि त्यतै दौडेकी हजुरआमाले आफ्नो नाति सिर्जनलाई चितुवाले गर्धन समातेको देखिन् र आफूले सबै बिर्सिएर चितुवाले समातेको नातिलाई खुट्टातर्फ समातेर तान्न थालिन । करिब एक मिनेट जति सिर्जनलाई एकातर्फबाट चितुवाले तान्यो, अर्कोतर्फबाट हजुरआमा गोवरीले तानिन् । हजुरआमाले नछाडेपछि सिर्जनलाई चितुवाले छाडेर हजुरआमा गोवरीमाथि आक्रमण गर्न खोज्दा आफू तर्किएपछि चितुवा त्यहाँबाट भागेको सिर्जनकी हजुरआमा गोवरी थरुनीले बताइन्। 

उनले भनिन्, “नातिलाई चितुवाले आक्रमण गरिरहेकै बेला मकैबारीमा भेटाएँ, मेरो दिमाग नै शून्य जस्तै भयो, म के गरुँ, कसो गरुँ भन्ने सोचमा गएँ, तर जे हुन्छ हुन्छ कि नाति बचाउँछु कि मलाई पनि चितुवाले मार्छ भन्ने सोचेर मैले नातिको खुट्टा समातेर तानेँ । त्यस समयमा चितुवाले नातिको घाँटी समातिरहेको थियो ।” आजको गोरखापत्रमा दैनिकमा खबर छ ।

सम्बन्धित समाचार