१५० ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
मेचीनगर । १५० ग्राम ब्राउनसुगरसहित एक भारतीय नागरिक सीमा क्षेत्रमा पक्राउ परेका छन् । आज दिउँसो ४ बजे भारतको पानीट्याङ्कीको शिव मन्दिर हुँदै मेची खोलाको बाटो गरी नेपालतर्फ लागूऔषध भित्र्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला मञ्जयाजोत खोरीबारी थाना बस्ने ४१ वर्षीय राजेश बर्मनलाई ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
मेचीनगर नगरपालिका-६ स्थित भान्सा खोलामा भारतबाट नेपालतर्फ आउँदै गर्दा बर्मनलाई शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट प्लास्टिकसहित १५० ग्राम ९८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । लागू औषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट झापा जिल्ला अदालतमा उपस्थित गराई ५ म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।