२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोडका उज्वलको उपचारमा समस्या, सहयोग जुटाइदिन अभिभावकको आग्रह

sajilo news
झापा
२०८२ बैशाख ३ गते , बुधबार
बिर्तामोडका उज्वलको उपचारमा समस्या, सहयोग जुटाइदिन अभिभावकको आग्रह

झापाको बिर्तामोडमा आर्थिक अभावले एक बालकको उपचारमा समस्या भएको छ ।  बिर्तामोड नगरपालिका-५ जात्रुवारीका बोनम्यारो पीडित चार वर्षीय बालक उज्वल ठाकुरको उपचारमा आर्थिक अभाव भएको हो । 

बुवा मुकेश ठाकुर र आमा पीँकी राजवंशी ठाकुरले छोरा उज्वलको बोन म्यारोमा समस्या आएपछि आर्थिक अभावले उपचारमा समस्या आएको जानकारी दिए ।  चिकित्सकको परामर्श पश्चात् भारतको चेन्नईमा उपचारका लागि लैजानुपर्ने  छोरालाई आर्थिक अभावमा उपचार गराउन समस्या भएपछि ठाकुर परिवार अहिले ठुलो सङ्कटमा छ ।  

बालकलाई चिकित्सकले भारतको चेन्नईमा लैजान सुझाएको तर, आर्थिक अभावका कारण लैजान नसकिएको ठाकुरले  बताए । डाक्टरले उनको थप उपचारका लागि २५ लाख भारु करिब नेपाली ४० लाख रुपैंया लाग्ने भनेपछि समस्या भएको ठाकुरको भनाई छ । 

उनीहरूले यस अघि पनि रोग पहिचानका लागि बिर्तामोडको कनकाई, बिएण्डसी हुँदै भारतका विभिन्न अस्पताल पु¥याउंदा करिब २० लाख रुपैंया खर्च भइसकेको जनाएका छन् । दाता सहित आफन्तसँग ऋण खोजेर उपचार गरिएको मुकेशले बताए । 

आर्थिक अवस्था कमजोर रहेका बालकका बुबा मुकेशको बिर्तामोड स्थित इलाका प्रहरी कार्यालय दक्षिण पट्टि सानो सैलुन छ । उनले त्यहीँबाट हुने आम्दानीले बालकको उपचार सहित घर खर्च जुटाउँदै आएका छन् । ४ महिनाको समयदेखि बिरामी भएको परिवारले जनाएको छ । सम्पत्तिको नाममा हाल केही नभएका ठाकुरका बुबा आमाले छोराको  उपचार गर्न सकस भएको भन्दै दाता गुहारेका छन् ।

बालकको उपचारमा सहयोग गर्न चाहने इच्छुक दाताले बालकका बुबा मुकेश ठाकुरको बिर्तामोड स्थित नेपाल एसबिआई बैङ्क लिमिटेडको १८२१५२४९९००६९० मा रकम जम्मा गर्न सकिने जनाइएको छ ।

सम्बन्धित समाचार