२०८३ बैशाख ३ गते , विहीबार

भेलागुडी देउनियाँ विश्रान्ति घाट निर्माण गर्न सङ्गीतमय महापुराण लगाइँदै

sajilo news
पार्थ मण्डल
२०८२ बैशाख ४ गते , विहीबार
भेलागुडी देउनियाँ विश्रान्ति घाट निर्माण गर्न सङ्गीतमय महापुराण लगाइँदै

भद्रपुर । भद्रपुर र बिर्तामोडको सीमा क्षेत्रमा भेलागुडी देउनियाँ विश्रान्ति घाट निर्माण गर्न उद्देश्यले सार्वजनिक सङ्गीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायक्ष हुने भएको छ । बिर्तामोड नगरपालिका–८ देउनियाँस्थित गणेश पाञ्चायन मन्दिरको आयोजना तथा बिर्तामोड ८ नम्बर वडा कार्यालयको सहकार्यमा यही बैशाख ६ गतेदेखि १३ गतेसम्म सप्ताह ज्ञान महायक्ष हुन लागेको बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी आयोजक समितिले जानकारी गराएको हो । 

भेलागुडी देउनियाँ विश्रान्ति घाट तथा जीर्ण बनेको गणेश पाञ्चायन मन्दिरको निर्माणका लागि महापुराणको आयोजना गर्न लागेको धार्मिक अनुष्ठान सेवा समाज नेपालको अध्यक्ष बाबुराम पराजुलीले जानकारी दिए । 

देशको जतिसुकै प्रतिष्ठित व्यक्ति भएपनि मृत्यु पश्चात् अन्ततः जाने भनेकै घाट हो । यहाँका बासिन्दाका लागि सुविधा सम्पन्न विश्रान्ति घाट नहुँदा समस्या भइरहेको छ । घाट निर्माणका लागि ठुलो बजेटको आवश्यक पर्ने भएकोले यो महापुराण मार्फत सहयोग गरिदिनुहुन अध्यक्ष पराजुलीले सबैलाई आग्रहसमेत गरेका छन् । 

देउनियाँ नदीमा दाहसंस्कार गर्ने स्थान व्यवस्थित नभएको र वडा कार्यालयको बजेटले मात्र विश्रान्ति घाट नबन्ने भएपछि महापुराणको आयोजना गर्नु परेको बिर्तामोड ८ नम्बर वडाध्यक्ष अजय कार्की (जङ्गे)ले बताए । विश्रान्ति घाट निर्माणका लागि वडा कार्यालय १५ लाख बजेट छुट्टाउने बताउँदै वडाध्यक्ष कार्कीले भने, ‘घाट निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारबाट बजेट माग गर्नुका सागै विभिन्न दाताहरूबाट सहयोग माग्ने छौँ ।’ यो पुराणबाट अन्दाजी एक करोड रकम सङ्कलन गर्ने लक्ष्य राखिएको उनको भनाई छ । 

धार्मिक  अनुष्ठान सेवा समाजको पूर्व संकल्पित १०८ भागवत अन्तरगत मेची महाकाली रथ यात्राको १७ औं श्रीमद्भागवत महापुराण हो । राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूको साथमा प्रमुख वाचक पण्डित माधवशरण खनालको मुखारविन्दबांट कथा प्रवचन तथा पण्डित आशिक काफ्लेको मुखारविन्दबाट पाठपारायण हुने समाजका सचिव अनिल गौतमले जानकारी दिए ।

महापुराणको उद्घाटन राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन गर्ने भएका छन् । बैशाख ६ गते महापुराण स्थलबाट झाँकीसहित निकालिने वृहत् कलश यात्रा गरामनिको दुर्गा मन्दिर पुगेर पुनः महापुराण स्थलमा आइपुग्ने कार्यक्रम रहेको उनको भनाई छ ।   

 

 

 

 

सम्बन्धित समाचार