२०८३ बैशाख ८ गते , मंगलबार

पहलगाम आतंकवादी हमलापछि भिड्ने तयारीमा भारत र पाकिस्तान

sajilo news
एजेन्सी
२०८२ बैशाख ११ गते , विहीबार
पहलगाम आतंकवादी हमलापछि भिड्ने तयारीमा भारत र पाकिस्तान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका छन्। ​ पहलगाममा भएको आतंकवादी हमलाको बारेमा दलहरूको धारणा तय गर्न प्रधानमन्त्री मोदीले संसद्मा प्रतिनिधित्व गर्ने दललाई बैठकमा बोलाएका छन्।  मंगलबार राति जम्मु काश्मिरको पर्यटकीय क्षेत्र पहलगाममा पाकिस्तानी आतंकबादी संगठनले नेपाली पर्यटक सुदीप न्यौपानेसहित २८ जनाको हत्या गरेका  थिए। कयौँ घाइते भएका छन्। आतंकवादीको हमलाका कारण साउदी अरबमा रहेका मोदी भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। 

भारतले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश दिएको छ भने पाकिस्तानबाट आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ।  भारतले पाकिस्तानसँग रहेको सिन्धु जल सन्धिलाई पनि स्थगित गर्ने निर्णय गरेको छ। भारत र पाकिस्तानबीच रहेको सिन्धु जल सन्धि सफल अन्तर्राष्ट्रिय सन्धिका रूपमा हेरिन्छ। दुई देशबीच पटक–पटक युद्ध हुँदा पनि उक्त सन्धिमा असर पर्ने गरेको थिएन।

दुई देशबीच सन् १९६० मा उक्त सन्धि भएको थियो। त्यस्तै पाकिस्तानी नागरिकले सार्क राष्ट्रका सदस्यका नाताले पाउँदै आएको भिसा छुट योजना पनि बन्द गरिएको छ। 

त्यस्तै, पञ्जाबमा दुई देशको सिमानामा रहेको अटारी एकीकृत चेक पोस्टलाई बन्द गर्ने निर्णय पनि भारत सरकारले गरेको छ । यता पाकिस्तानलले पनि राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएको छ।  पहलगाम हमलापछि भारतको गैरजिम्मेवार आरोप लगाएको भन्दै प्रधानमन्त्री शहबाज शरीफले  राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन्।  पछिल्लो परिस्थितको विश्लेषणका लागि प्रधानमन्त्री शरीफले बैठक बोलाएको रेडियो पाकिस्तानले जनाएको छ। 

सम्बन्धित समाचार