बिर्तामोडका चारजना डीएसपीले पाए सम्मान, दिनो राजवंशीको आत्माले पाएन न्याय
झापा । २०७७ साल पुसको पहिलो साता झापाको बिर्तामोडमा एउटा दर्दनाक घटना घट्यो । एक विवाहित महिलाको बलात्कारपछि भएको हत्या घटना । चार वर्षमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा चारजना डीएसपीले जिम्मेवारी सम्हालेर बिदा भएर गएपनि सो घटनाको अनुसन्धान अझ अधुरै छ । सरुवा भएर आउँदा प्रहरी अधिकृतहरूलाई जुन स्वागत सम्मान यहाँ गरिन्छ, जाने बेलामा त्यो भन्दा बढी भव्य सम्मानसहित बिदा पनि त्यसरी नै गरिन्छ ।
२०७७ सालदेखि २०८२ को बैशाख दोस्रो सातासम्म डीएसपीहरु मुकुन्द रिजाल, रुगमबहादुर कुँवर, सुरज कार्की र प्रकाश विष्टले बिर्तामोड प्रहरीको नेतृत्व सम्हाले । अपराध अनुसन्धानमा अब्बल ठानेर बिर्तामोडबासीहरुले ती चारैजनालाई सम्मानसहित भव्य बिदाइ गरिरहँदा बिर्तामोड-२ चैतुवारीकी दिनो राजवंशीको आत्माले अझै न्याय पाउन सकेन । चार वर्षसम्म पनि उनलाई बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लाग्न सकेन ।
२०७७ पुस ५ गते बिहान बिर्तामोड २ चैतुवारीकी ४२ वर्षीया दिनो राजवंशी मृत अवस्थामा फेला परेकी थिइन् । अघिल्लो दिनको बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पुर्याउन ती महिला घरबाट हिँडेकी थिइन् । त्यसपछि बेपत्ता भएकी उनको शव भोलिपल्ट बिहान फेला परेको थियो ।सोही ठाउँका मोहन मगरको खेतमा नाक र मुखबाट सामान्य रगत बगेको,उत्तानो अवस्थामा शव फेला परेको थियो । शवको छेउमै खानाको पोको र टर्चलाइट भेटिएको थियो ।
घटनापछि संघीय प्रहरी इकाई कार्यालय धरानबाट तालिमप्राप्त कुकुर मगाएर त्यस बेलाका डीएसपी मुकुन्द रिजालले अनुसन्धान थालेका थिए । घरपरिवारबाटै उनको हत्या भएको आशंकामा दिनोका श्रीमान् वीरबहादुर राजवंशीमाथि प्रहरीले अनुसन्धान गरेको थियो । तर, पुष्टि हुन सकेन । दिनोको अनुसन्धान पूरा नहुँदै मुकुन्द रिजाल सरुवा भएर गए । त्यसपछि आएका रुगम कुँवरले त्यस फाइललाई खोल्ने प्रयास गरेका थिए । यसअघि हत्या मात्र भएको बताइएकोमा कुँवरले बलात्कारपछि हत्या भएको पुष्टि गराए । उनले केही शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरे पनि प्रमाणसहित पक्राउ गर्न सकेनन् ।
त्यसपछि आएका सुरज कार्की र प्रकाश विष्टले दिनोको फाइल नै खोलेनन् । चारजना डीएसपीले दिनोको अपराधीलाई पक्राउ गर्न नसकेपछि भर्खरै बिर्तामोड प्रहरीको कमान्ड सम्हाल्न विजय श्रेष्ठ आइपुगेका छन् । उनले सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रभावकारी ढङ्गले लाग्ने बताएका छन् । आफूले दिनो राजवंशीको पुरानो फाइल खोल्ने डीएसपी श्रेष्ठले बताए ।
२०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा भएको निर्मला पन्त बलात्कार र हत्याकाण्डको जस्तै दिनो राजवंशीको घटनामा प्रहरी प्रशासन असफल बन्न नहुने स्थानीयहरू बताउँछन् । कुनै पनि हालतमा दिनोको हत्यारालाई पक्राउ गरी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।