२०८३ बैशाख ३ गते , विहीबार

जानकी जन्मोत्सव धूमधामसँग मनाइयो

sajilo news
झापा
२०८२ बैशाख २३ गते , मंगलबार
जानकी जन्मोत्सव धूमधामसँग मनाइयो

जनकपुरधाममा मंगलवार जानकी नवमी एवं जानकी जन्मोत्सव धूमधामका साथ मनाइयो। वैशाख शुक्ल नवमी अर्थात आजकै दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउने गरिन्छ।

जानकी नवमीको अवसरमा विहानैदेखि दुधमती नदीमा नुहाएर जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिरलगायतका मन्दिरहरूमा पूजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरूको भीड लागेको थियो।

यस वर्ष सीताको जन्मोत्सवमा जानकी मन्दिरलाई नवदुलही झैँ सिँगारिएको छ। सीताको जन्मोत्सवमा सहभागी हुन एवं पूजापाठ गर्न नेपाल, भारत तथा विदेशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरू जनकपुरधाममा आएका छन्।

जानकी नवमीमा सहभागी हुन थाई राजदूत जानकी मन्दिरमा संन्ध्या प्रहरको कार्यक्रममा सहभागिता जनाउँदै राजदूतले नृत्यसमेत गरे। 

जन्मोत्सवको अवसरमा जानकी मन्दिरमा विविध कार्यक्रमहरूको आयोजना गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए। महन्त दासका अनुसार जननी जानकीको जन्मोत्सव यहाँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको विषय हो। 

जानकी नवमी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो। यसको महत्व केवल मिथिला वा तराईमा सीमित छैन, यसले सम्पूर्ण भारत–नेपालको साझा सांस्कृतिक इतिहास बोकेको छ। 

‘राम जन्मभूमि अयोध्या जति नै जानकी जन्मभूमि जनकपुर पनि पवित्र छ,’ महन्त दासले भने‚ ‘जानकी नवमी केवल पूजा होइन—यो मिथिलाको स्वर हो, जुन राज्य, समाज र संसारलाई सुनाउनुपर्ने बेला आएको छ। जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता दिइनु अब समयको माग हो।  यस पर्वलाई आधार बनाएर मिथिलाको सांस्कृतिक पर्यटन, धार्मिक आस्था र स्थानीय अर्थतन्त्रलाई सशक्त पार्न सकिने जानकारहरु बताउँछन्।

सम्बन्धित समाचार