२०८३ बैशाख ३ गते , विहीबार

किन बन्यो सशस्त्रको एआईजी बढुवा पेचिलो ?

sajilo news
पत्रपत्रिका
२०८२ बैशाख ३० गते , मंगलबार
किन बन्यो सशस्त्रको एआईजी बढुवा पेचिलो ?

सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि आठ जना नायब महानिरीक्षक (डीआईजी)ले आवेदन दिएपछि बढुवा थप पेचिलो बन्न पुगेको छ । बढुवा सिफारिस नहुँदा सीमा विभाग झन्डै एक महिनादेखि एआईजीविहीन बन्न पुगेको छ ।

गत ३ वैशाखदेखि सशस्त्रमा एआईजीको एक पद रिक्त छ । बढुवा समितिको सचिवालयले गत १४ वैशाखमा सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको मिति सकिएको पनि एक साता भइसकेको छ । तर, यति लामो समय बितिसक्दा पनि बढुवा सिफारिस समितिको बैठक नै बस्न सकेको छैन ।

गत मंगलबार श्रीलंका भ्रमणमा गएका गृहसचिव गोकर्णमणि दुवाडी स्वदेश फर्किएपछि बढुवा सिफारिस प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको थियो । उनी आइतबार नै स्वदेश फर्किसकेको भए पनि बढुवा सिफारिस समितिको बैठक बस्ने संकेत देखिएको छैन ।

सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद ७ दफा ३९ को उपदफा १ को (क) अनुसार एआईजी बढुवा सिफारिस समितिमा गृह सचिव अध्यक्ष रहेको समिति हुन्छ । दुई सदस्यीय समितिको सदस्य सचिव भने सशस्त्र प्रहरी महानिरीक्षक रहने व्यवस्था छ । समितिले सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले एआईजी बढुवालाई निश्चित गर्नेछ ।

आवेदन भर्नेमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएर आएका चार जना, नेपाल प्रहरीमै प्राविधिक नायब निरीक्षक (सई)मा भर्ना भई सशस्त्रमा स्थानान्तरण भई आएका दुई जना र सशस्त्र प्रहरीमै भर्ना भएका सशस्त्र प्रहरी निरीक्षकको पहिलो ब्याचका दुई जना छन् ।

आवेदन दिनेमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएका कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी छन् । यसैगरी, नेपाल प्रहरीमा प्राविधिक नायब निरीक्षक (सई)मा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भई आएका लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल छन् । यस्तै, सशस्त्रको पहिलो इन्सपेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेल छन् ।

स्रोतका अनुसार एआईजीका लागि आवेदन दिन सबै डीआईजीले सक्ने भए पनि गिरी, ठाडामगर, नेम्वाङ र सुवेदीको मात्रै आवेदन पर्ने सशस्त्र मुख्यालयको अनुमान थियो । तर, सशस्त्रको पहिलो इन्स्पेक्टर बेसिकका श्रेष्ठ र पोखरेलले पनि आवेदन दिएपछि नेपाल प्रहरीमा प्राविधिक नायब निरीक्षक (सई)मा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भई आएका सिंह र पालले पनि ‘आफूभन्दा जुनियरले पनि आवेदन दिएको’ भन्दै आवेदन दिएका थिए । यद्यपि, उनीहरूको आवेदनलाई सशस्त्र मुख्यालयले गम्भीरतापूर्वक लिएको छैन । तर, सि.सं. १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका श्रेष्ठ र पोखरेलको आवेदनलाई भने सशस्त्र मुख्यालयले गम्भीरतापूर्वक लिएको स्रोतको दाबी छ । श्रेष्ठ र पोखरेलसँगै डीआईजीमा बढुवा भएका दीपेन्द्र शाह र पुरुषोत्तम थापाले भने आवेदन नै दिएका थिएनन् ।

बढुवा भएको अवस्थामा ३ वर्षपछि संगठन प्रमुख नै बन्नसक्ने र नभए विभिन्न मितिमै डीआईजीबाटै अवकाशमा जानुपर्ने भएकाले पनि यो बढुवा फाराम भरेकाहरूका हकमा विशेष बन्न पुगेको छ । अहिले एआईजीमा बढुवा भए पनि सुवेदी, सिंह र पाल भने सशस्त्र प्रहरीको यही नियमावलीअनुसार नेतृत्वमा पुग्न सक्दैनन् । तर, संसद्मा विचाराधीन विधेयक पारित भएर ऐन आएको खण्डमा भने हिसाब किताबमा फरक पर्न सक्छ ।

हालको नियमावलीअनुसार अहिले रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति १७ चैत २०८४ पछि संगठन प्रमुख बन्ने बलियो आधार देखिन्छ । विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल र वंशी दाहालमध्येबाट एक जना आईजी बन्ने अवस्था आउँछ ।

१८ चैत २०५४ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका पौडेल र दाहाल ३० वर्षे सेवा अवधिका कारण १७ चैत २०८४ मा अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि भने अहिले एआईजीमा बढुवा हुने व्यक्ति आईजीपीको बलियो दाबेदार बन्छन् । त्यसैले, अहिलेको एआईजी बढुवामा भावी नेतृत्व पनि जोडिएकाले बढुवा निकै सकसपूर्ण बनेको हो ।

आवेदन भर्ने आठ जनामध्ये गिरी र ठाडामगरबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । डीआईजीको वरीयतामा गिरी १ नम्बरमा रहेकाले उनी नै एआईजी बढुवामा पर्ने सम्भावना र आधार बलियो देखिन्छ । नेपाल प्रहरीको हालै भएको एआईजीको बढुवा सिफारिसमा पनि वरिष्ठतालाई नै आधार मानिएकाले सशस्त्रमा पनि गिरीको सम्भावना बलियो बनेको हो । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार