झापा कन्टेनर काण्ड : भन्सार र व्यवसायीले राजश्व तिरेर भित्राएको दाबी गरिरहेको बेला कहाँ चुकियो त झापा प्रहरी ?
झापा । राजश्व छली गरेको आशङ्कामा नेपाल प्रहरीले झापाको बिर्तामोड–५ बाट आइतबार साँझ भारतीय नम्बर प्लेटका तीन वटा कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको घटना सार्वजनिक भएसँगै यसले व्यापक चर्चा र भ्रम सृजना गरेको छ।
उक्त कन्टेनरहरूमा बिना भन्सार अवैध रूपमा करोडौँ मूल्य बराबरका सामान नेपाल भित्र्याइएको आशङ्कामा प्रहरीले कारबाही स्वरूप राजश्व अनुसन्धान बुझाएको हो । तर, पछिल्लो विवरणअनुसार ती कन्टेनरहरू नेपाल सरकारले तोकेको कानुनी प्रक्रिया अनुसार भन्सार महसुल तिरेरै नेपाल प्रवेश गरेको भन्सार र व्यवसायीले दाबी गरिरहेको बेला झापा प्रहरी कहाँ चुकियो त ? यस्तो छ सम्बन्धित निकायको आ-आफ्नो तर्क र भनाई ।
धान रोप्ने मेसिन भित्रिएको थियो
कनकाई नगरपालिका–५ मा रहेको नोक्मा कृषि फर्मले चीनको वुहान शहरबाट ट्र्याक कम्बाइन हार्भेस्टर मेसिन आयात गरेको थियो। एलसी (लेटर अफ क्रेडिट) प्रणालीमार्फत लक्ष्मी सनराइज बैंक, हात्तीसार काठमाडौँ शाखाबाट भुक्तानी गरिएको थियो। कोलकाताको हल्दिया पोर्ट हुँदै आएको सो मेसिन शुक्रबार मेची भन्सार कार्यालयमार्फत नेपाल प्रवेश गरेको थियो ।
अंकिता ट्रेडर्स मार्फत भित्र्याइएका ती कन्टेनरहरूमा WV4L-2.6 मोडेलका हार्भेस्टर मेसिन रहेका थिए, जसमा १०२ एचपी इन्जिन, रबर ट्र्याक, एयर कन्डिसन क्याबिन लगायतका आधुनिक उपकरणहरू समावेश छन्।
भन्सार प्रज्ञापनपत्र अनुसार ती मेसिनहरूको कुल मूल्य १४२,९९२ अमेरिकी डलर, अर्थात् नेपाली मुद्रा अनुसार २ करोड ९ लाख ५९ हजार ९८२ रुपैयाँ १० पैसा बराबरको थियो। नेपाल सरकारले कृषिजन्य उपकरणमा भन्सार महसुल छुट दिएको छ। जसअनुसार १% मात्र भन्सार महसुल बुझाएर कृषिजन्य सामाग्रीहरू खरिद गर्न सकिने प्रावधान रहेको छ। जसअनुसार उक्त मेसिन खरिद गरेको नोमा कृषि फर्मले २ लाख १४ हजार ६६५ रुपैयाँ भन्सार बुझाइएको उल्लेख गरिएको छ।
प्रहरीको चुक– अनुसन्धान नगरी कारबाही
गृह मन्त्री रमेश लेखकले केही दिनअघि कोसी प्रदेशका प्रमुख सुरक्षा अधिकारीहरूलाई अवैध तस्करी रोक्न निर्देशन दिएका थिए। सोही सन्दर्भमा प्रहरीले ‘कम भन्सार तिरेर महँगो सामान भित्र्याइएको’ भन्ने सूचना पाएपछि बिर्तामोडबाट ती कन्टेनरहरू नियन्त्रणमा लिएको हो।
तर, प्रारम्भिक तहमा सूचना पुष्टि नगरी गरिएको कारबाहीले प्रहरी प्रशासनकै कमजोरी उजागर भएको देखिन्छ। प्रहरीले विज्ञप्ति निकालेर ती कन्टेनरहरूमा ३ करोड ६१ लाख बराबरको अवैध सामान रहेको दाबी गर्दै सञ्चारमाध्यममार्फत समाचार सार्वजनिक गर्यो, जुन पछिल्लो तथ्यसँग मेल खाँदैन।
भन्सार कार्यालयको स्पष्टीकरण सबै प्रक्रिया पूर्ण थियो
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले घटनाबारे स्पष्टीकरण दिँदै पूर्वी गर्जनलाई भने, “ती कन्टेनरहरू VCTS (Vehicle Control and Tracking System) मार्फत भन्सारको प्रत्यक्ष निगरानीमा नेपाल प्रवेश गरेका हुन्। यस्तो अवस्थामा बिना भन्सार सामान भित्रिन सम्भव छैन।”
उनले भन्सारसँग समन्वय नगरी हतारमा समाचार सार्वजनिक गरिनु भन्सार प्रणालीप्रति अविश्वास पैदा गराउने कार्य भएको टिप्पणी गरे। उनका अनुसार उक्त ट्रकहरू सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्रै नेपाल प्रवेश गरेको देखिन्छ ।
व्यवसायीको गुनासो: कानुन पालना गर्दा पनि सास्ती
भन्सार एजेन्ट अंकिता ट्रेडर्सका सञ्चालक कृष्णकान्त खनियाले पूर्वी गर्जनसँग कुरा गर्दै आफू २८ वर्षदेखि यो पेसामा रहे पनि यस्तो घटना पहिलो पटक भोग्नुपरेको बताए। “सरकारी नियम अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरियो, तर यसरी शङ्काको घेरामा पारिनु दुर्भाग्यपूर्ण हो,” उनले भने।
नोक्मा कृषि फर्मका प्रतिनिधिहरूले पनि सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर ल्याइएका सामान अनावश्यक रूपमा विवादमा पर्नु आपत्तिजनक रहेको बताएका छन्।
प्रहरीको भनाइ: सूचना प्राप्त भएपछि शङ्का गरियो
जिल्ला प्रहरी कार्यालय झापाले भने सूचना प्राप्त भएअनुसार शङ्कास्पद कन्टेनर नियन्त्रणमा लिइएको र भन्सार महसुल पनि कम तिरेको पुष्टि भएपछि अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जनाएको छ।
यस घटनाले प्रस्ट पारेको छ कि कानुनी प्रणाली र प्रक्रिया बारे स्पष्ट बुझाइ बिना गरिने निर्णयले व्यवसाय, सरकारी संस्था र आम जनताको विश्वासमा असर गर्न सक्छ। भविष्यमा यस्ता संवेदनशील विषयमा सूक्ष्म अनुसन्धान र संयमित कार्य आवश्यक देखिन्छ ।