२०८३ बैशाख १२ गते , शनिबार
मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा दुई युवा पक्राउ
झापाको मेचीनगरमा मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा दुईजना युवा पक्राउ परेका छन् । आज साँझ ५ बजे मेचीनगर नगरपालिका–१० खयरडाँगीमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले खयरडाँगी बस्ने ३३ वर्षीय मोहन चौधरी र मेचीनगर –१५ बस्ने ३४ वर्षीय डिपलेस मेचेलाई चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको थियो ।
उनीहरूमध्ये चौधरीले मलद्वारमा लुकाएको अवस्थामा प्लास्टिकसहित ६ ग्राम १५० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । उनीहरूले प्रयोग गरेको मे.९प.३९४९ नम्बरको स्कुटर र स्मार्ट फोनसमेत बरामद गरिएको छ ।