२०८३ बैशाख ३ गते , विहीबार

सन्तानप्राप्तिपछि आमाबुबाको जीवनले दिशाबोध गर्छ : अध्ययन

sajilo news
झापा
२०८२ जेष्ठ १२ गते , सोमबार
सन्तानप्राप्तिपछि आमाबुबाको जीवनले दिशाबोध गर्छ : अध्ययन

के तपाईँलाई बच्चा जन्माएपछि व्यक्ति (जन्मदाता/दम्पत्ति वा महिला/पुरुष) को जीवन निकै राम्रो बन्छ भन्ने लाग्छ ? हुन त यो प्रश्नको उत्तर सायद त्यति सरल छैन।  जर्मनीको कोलोन विश्वविद्यालयले युरोपभर गरेको एक अध्ययनले सन्तान भएका मानिसहरूले आफ्नो जीवनलाई बढी अर्थपूर्ण र मूल्यवान् ठानेको पाइएको छ। तर जीवनप्रतिको अपेक्षाकृत पूर्ण सन्तुष्टि घटेको उनीहरूले बताएका छन्। 

‘जर्नल अफ म्यारिज एण्ड फेमिली’ मा प्रकाशित युरोपका ३० देशका ४३ हजार भन्दा बढी व्यक्ति सहभागी उक्त अध्ययनपछि तयार पारिएको प्रतिवेदन छापिएको छ।  

सन्तुष्टि पाउनु आवश्यक छैन

अनुसन्धानकर्ता अङसगार हुडेका बच्चा भएका मानिसहरूले आफू खुशी वा बढी सन्तुष्ट नभएपनि जीवनलाई बढी उद्देश्यपूर्ण ठान्छन्। धेरै पटक आमाबाबु बच्चा नभएका मानिसहरू भन्दा कम सन्तुष्ट पाइएको उनले बताएका छन्। 

बच्चाहरूले जीवनमा स्थिरता र खुशी ल्याउँछन् भन्ने परम्परागत मान्यता रहेकाले पछिल्लो अध्ययनले निकालेको निचोड समाजशास्त्रीका लागि महत्त्वपूर्ण र आश्चर्य जनक पनि हुन सक्छ। 

जीवनसँग सन्तुष्टि र जीवनको अर्थको अनुभूतिलाई ध्यानमा राखेर अनुसन्धान गरिएको थियो। यसक्रममा आमाबाबु बनेकाहरूले आफ्नो जीवनलाई बढी अर्थपूर्ण ठानेका बताए तर  उनीहरू आफ्नो दैनिक जीवनबाट त्यति सन्तुष्ट छैनन्। 

यस्तो खालको असन्तुष्टि विशेषगरी महिलाहरूमा देखिएको थियो। तिनमा पनि एकल आमा, कम उमेरका आमा, कम शिक्षा प्राप्त आमा र बाल हेरचाहका सुविधा हरू कमजोर भएका देशमा बस्नेहरूमा छ। 

पछि पर्दै जर्मनी

स्वीडेन, नर्वे र डेनमार्क जस्ता स्क्यान्डिनेभियाली देशहरूमा आमाबाबुले दुवै पक्षलाई लिएर राम्रो महसुस गरेका पाइयो। त्यहाँका आमाबुबा बनेकाहरूले सन्तान प्राप्तिपछि जीवन अर्थपूर्ण भएको मात्र ठानेका छैनन्, उनीहरू आफ्नो जीवनसँग सन्तुष्ट देखिन्छन्। 

यसको मुख्य कारण ती देशहरूमा सरकारी नीतिमार्फत, आमाबाबुलाई समय, पैसा र संस्थागत सहयोगको हिसाबले ठूलो राहत दिइन्छ। डे-केयरको उपलब्धता, अभिभावकीय बिदा र आर्थिक सहयोग जस्ता योजनाले त्यहाँका अभिभावकहरूको जीवनलाई सजिलो बनाइदिएको छ। 

डा. हुड्डे भन्छन्, ‘स्क्यान्डिनेभियाली देशहरूले बालबालिकाको पालनपोषणलाई व्यक्तिगत बोझ मात्र नभई सामाजिक जिम्मेवारीको रूपमा लिएका छन्।’ यसको विपरीत, जर्मनीमा पछिल्ला केही वर्षहरूमा पारिवारिक नीतिहरूको प्रगति सुस्त भएको छ। 

सन् २००० को दशकको अन्त्यतिर, जर्मनीले डे-केयर सुविधा विस्तार गरेर र स्वीडेन जस्तै अभिभावकीय लाभ जस्ता योजनाहरू अपनाई विश्वव्यापी रूपमा प्रशंसा बटुलेको थियो। तर अहिले त्यो सुधारको गति रोकिएको डा. हुड्डे बताउँछन्। पछिल्लो अध्ययनले जर्मनी लगायत धेरै देशहरूले अब फेरि पारिवारिक नीतिहरूलाई तीव्र बनाउनु आवश्यक छ भन्ने कुरा स्पष्ट पारेको उनको तर्क छ। 

आजको पुस्ता केवल मनोरञ्जन वा जीवनको सुख सुविधा मात्र चाहँदैन, उनीहरू त्यस्ता उद्देश्यहरू आफूलाई आध्यात्मिक सन्तुष्टि प्राप्तिको उद्देश्य पनि खोजिरहेका छन्। मानिसहरू आफ्नो जीवन केवल रमाइलो र आनन्दमा मात्र बिताउनु नपरोस्, कुनै ठूलो उद्देश्यसँग जोडिएको होस् भन्ने चाहन्छन्। ‘धेरै मानिसहरू मातापिता बन्नुमा यस्तो उद्देश्य प्राप्तिको महशुस गरिरहेका छन्’, डा. हुड्डे भन्छन्, यसै कारण पनि बालबालिका हुर्काउनु गाह्रो भएपनि, उनीहरूले जीवनलाई गहिराइ र दिशा प्रदान गर्छन्।’

बालबालिकाले जीवनलाई उद्देश्य दिन सक्छन्, तर समाजले उनीहरूलाई हुर्काउन पर्याप्त सहयोग प्रदान गरेन भने, त्यही उद्देश्य पनि बोझ बन्न सक्छ भन्ने देखिन्छ। समाजलाई खुशी देख्न चाहने हो भने, अभिभावकलाई नैतिक मात्र नभई आर्थिक र संस्थागत सहयोग पनि प्रदान गर्नुपर्नेछ भनेर नीति निर्माताले बुझ्नुपर्छ, डा. हुड्डेले भने।

सम्बन्धित समाचार