जेठ २० गते भद्रपुरमा साइकल र्याली हुने
भद्रपुर । वायु प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले झापाको सदरमुकाम भद्रपुरमा साइकल र्याली हुने भएको छ । यही जुन २ तारिखमा विश्व साइकल दिवस तथा जुन ५ तारिखमा विश्व वातावरण दिवसको अवसरमा भद्रपुर साइकल समाजले नगरमा पहिलो पटक यही जेठ २० गते मङ्गलवार बिहान ६ बजे साइकल र्याली आयोजना गर्न लागेको हो ।
भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी विमानस्थल सुरु भई निकालिने साइकल र्याली कलवलगुरी, चन्द्रगढ, पुहातुबारी चोक, घोडामारा, भद्रपुर बजार, नयाँ बजार, किचकबध, चारआली चोक, हिमाली चोक, दियालो वन हुँदै सगरमाथा, झापा चोकबाट नगरपालिकामा आएर समापन हुने समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
साइकल र्याली कार्यक्रममा नगर प्रमुख उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, वडाध्यक्षहरू, जिल्ला खेलकुद विकास समिति, भद्रपुरका सबै सामाजिक सङ्घसंस्था, पत्रकार लगायत साइकल प्रेमीहरू सहभागी भई दिनुहुन उनले सबैलाई आव्हान समेत गरेका छन् ।