२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोडमा गायत्री जयन्ती मनाइयो

sajilo news
झापा
२०८२ जेष्ठ २२ गते , विहीबार
बिर्तामोडमा गायत्री जयन्ती मनाइयो

झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाइएको  छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड – ५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो ।
गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालेको  निशान यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । विभिन्न संघ संस्थाका पदाधिकारी सहित गायत्री माताका भक्तजन सहित दुई सय भन्दा बढी बढुक, स्काउट तथा धार्मिक एवम्  सामाजिक व्यक्तिहरूको सहभागितामा निकालिएको ¥याली बिर्तामोड नगर परिक्रमा पछि मन्दिर परिसरमा पुगेको थियो ।
यस अवसरमा मन्दिर निर्माण समितिका संस्थापक अध्यक्ष रौनक वंशल , मन्दिर व्यवस्थापन समितिका अध्यक्ष  विवेक अग्रवाल लगायतले मन्दिरमा आएका श्रद्धालु भक्तजनलाई स्वागत गरेका थिए ।
पूर्वमै पहिलो पटक अढाई करोड रुपैयाँको लागतमा मन्दिर निर्माण भएसँगै गायत्री जयन्ती समेत पहिलो पटक मनाइएको हो । गायत्री जयन्तीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईँ, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मेघराज बास्तोला, अग्रसेन भवन सेवा समितिका अध्यक्ष सुरेश कुमार भद्रपुरे लगायत पाँच सय भन्दा बढीको सहभागिता रहेको थियो ।
बिर्तामोडका युवा व्यवसायी वंशलको अगुवाइमा बिर्तामोड ५ स्थित अग्रसेन भवनको समीपमा माता गायत्रीको दिव्य मन्दिर निर्माण भएको छ । २०८० साल जेठ १७ गतेबाट मन्दिर निर्माण प्रारम्भ भएर २०८१ साल माघ २१ गते विधिपूर्वक माताको प्राण प्रतिष्ठा गर्दै मन्दिर सञ्चालनमा आएको थियो ।
गायत्री माता मन्दिर सेवा समितिले गायत्री जयन्तीमा विशेष प्रकारको कार्यक्रम आयोजना गर्दै साँझ सन्ध्या आरती गर्ने कार्यक्रम रहेको बताइएको छ ।  

 

सम्बन्धित समाचार