२०८३ बैशाख ५ गते , शनिबार

फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा, यामालको दुई गोल

sajilo news
एजेन्सी
२०८२ जेष्ठ २३ गते , शुक्रबार
फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा, यामालको दुई गोल

फ्रान्सलाई हराउँदै स्पेन युएफा नेशन्स लिगको फाइनलमा पुगेको छ। लामिन यामालको २ गोलमा स्पेनले शानदार प्रदर्शनसहित गएराति फ्रान्सलाई ५–४ ले हराउँदै उपाधि भिडन्तका लागि पोर्चुगलसँगको भेट पक्का गरेको हो। 

१७ वर्षीय बार्सिलोनाका फरवार्ड यामाललाई यो सिजनको विश्वकै उत्कृष्ट खेलाडीको रुपमा हेरिएको छ। उनी बलोन ड’ओर जित्ने दाबेदारमध्ये एक मानिन्छन्। उनले स्टुटगार्टमा स्पेनका लागि २ गोल गरे।

निको विलियम्सले २२औं र मिकेल मेरिनोकाले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–० ले अगाडि बढाए। ५४ औं मिनेटमा यामालले पेनाल्टीमा गोल गरे। आद्रिएन राबिओले आफैलाई फाउल गरेपछि प्राप्त पेनाल्टी यामालले गोल गरेका हुन्।

५५ औं मिनेटमा पेड्रीले विलियम्सको पासमा गोल त्यसपछि ५९ औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गरे। पेड्रो पोर्रोको फाउलपछि फ्रान्सले पेनाल्टी पाएको हो।

तर यामालले ६७औं मिनेटमा आफ्नो दोस्रो र स्पेनको पाँचौं गोल गोल गरेपछि खेल लगभग सकिएको जस्तो देखिन्थ्यो।

तर फ्रान्सका परिवर्तित खेलाडी रायान चेर्कीले आफ्नो अन्तर्राष्ट्रिय डेब्यूमा एमबाप्पेको पास समातेर बल २० यार्डबाट भलीमा शानदार गोल गरे। स्पेनी डिफेन्डर डानी भिभियनले ८४ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल थप रोचक बन्यो।

इन्ज्युरी समयको तेस्रो मिनेटमा रान्डल कोलो मुआनीले चेर्कीको क्रसमा हेड गर्दै गोल खेललाई ५–४ को रोमान्चक अवस्थामा पुर्याए। तर फ्रान्स बराबरी गोल गर्न सकेन। अब आइतबार म्युनिखमा स्पेन र पोर्चुगलले फाइनल खेल्नेछन् भने फ्रान्स र जर्मनीबीच स्टुटगार्टमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित समाचार