कचनकवलका निजी विद्यालयले टेरेनन् गाउँपालिकाकाे निर्णय, अधिकांश विद्यालय खुला
बनियानी। कचनकवल गाउँपालिकाले अत्यधिक गर्मीका कारण आज र भाेलि दुई दिन विद्यालय बिदा दिने निर्णय गरे पनि साे निर्णय निजी विद्यालयहरूले पालना नगरेकाे पाइएको छ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बुधवार जारी गरेको सूचनामार्फत पालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय दुई दिन बिदा निर्णय गरेको थियो। तर, गाउँपालिकाभित्र सञ्चालित अधिकांश निजी विद्यालय सञ्चालकहरूले साे निर्णय नमान्दै आज आफूखुसी विद्यालय सञ्चालन गरेकाे पाइएको छ ।
एक निजी विद्यालय सञ्चालकले भने, `गाउँपालिकाले हामीसँग कुनै औपचारिक समन्वय नगरिकन सूचना जारी गरिएकाेले विद्यालय खाेल्न बाध्य भयाैैं ।´ हामीले केही दिनअघि नै अत्यधिक गर्मीको कारण विद्यालय बन्द गरिसकेका थियौं। पटक–पटक बिदा दिन सम्भव नभएकाे उनकाे भनाइ छ । पालिकामा ४८ वटा विद्यालय रहेकाेमा १४ वटा निजी विद्यालय रहेका छन् ।
शिक्षा शाखाकाकी प्रमुख मनिता बरालका अनुसार गर्मी बढेकाेले हामीले विभिन्न विद्यालय र अभिभावकबाट मौखिक तथा लिखित अनुरोधमा यस्तो निर्णय गरिएको बताइन् । जिल्लामा हिजाे साँझ पानी परेपनि आजकाे तापक्रम फेरि बढिसकेको छ ।