कचनकवल गाउँपालिकाले गर्यो आर्थिक भार हुनेगरी स्वास्थ्य स्वयंसेविका नियुक्त, ४ लाख ४८ हजार रुपैयाँ अनियमित
कचनकवल । झापाको कचनकवल गाउँपालिकाले आर्थिक भार हुने गरी आवश्यकता भन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका नियुक्ति गरेको पाइएको छ । गाउँपालिकाको जनसङ्ख्या आधारमा ४१ जना स्वास्थ्य स्वयंसेविका नियुक्त गर्नुपर्नेमा ६१ जना नियुक्ति गरी सेवा सुविधासहितको भुक्तानी गरेको पाइएको हो ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ को दफा २.३.५ (ख) मा स्थानीय तहले सामान्यतया तराईमा १०००, पहाडमा ६०० र हिमालमा १५० जनसङ्ख्याको लागि एक जना रहने गरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका छनौट गर्न सक्ने व्यवस्था रहेको छ । यसबाहेक स्थानीय तहको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र आफ्नो क्षमताको आधारमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सङ्ख्या थप गर्न सक्ने र यसरी थप गरिएको स्वास्थ्य स्वयंसेविकाको आर्थिक भार आफैले व्यवस्था गर्नुपर्ने व्यवस्था रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ बमोजिम कचनकवलमा ४१ हजार ३१७ जनसङ्ख्या रहेको छ । जसको लागि तराई जिल्लामा १००० जनसङ्ख्याको लागि एक जना स्वास्थ्य स्वयंसेविका अनुसार करिब ४२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका नियुक्ति गरी सोही बमोजिम सेवा सुविधा भुक्तानी गर्नुपर्ने हुन्छ । तर, गाउँपालिकाले १९ जना बढी स्वास्थ्य स्वयंसेविकालाई भुक्तानी गरेको सुविधा बापतको रु ४ लाख ४८ हजार ४ सय रकम नियमसम्मत नभई अनियमित भएको महालेखा परीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनमा उल्लेख गरेको छ ।