२०८३ बैशाख ५ गते , शनिबार

काँकडभिट्टा-लौकही ‘एसियन हाइवे’ को निर्माणाधिन प्रगित २० प्रतिशत मात्रै, डाइभर्सन व्यवस्थित बनाउन प्रजिअको निर्देशन

sajilo news
झापा
२०८२ असार ५ गते , विहीबार
काँकडभिट्टा-लौकही ‘एसियन हाइवे’ को निर्माणाधिन प्रगित २० प्रतिशत मात्रै, डाइभर्सन व्यवस्थित बनाउन प्रजिअको निर्देशन

निर्माणाधीन ‘एसियन हाइवे’को काम चुस्त बनाउन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काँकडभिट्टा लौकही सडक आयोजना (पूर्वी) खण्डलाई निर्देशन दिएका छन् । आयोजना प्रमुख सुनिलबाबु पन्तलाई निर्माणाधीन सडकको डाइभर्सन बनाइएको ठाउँमा पानीको निकासलाई व्यवस्थित गर्न निर्देशन दिएका हुन् । ठूलो पानी आएको समयमा पानीले निकास नपाएर राजमार्ग नै अवरुद्ध पार्न सक्ने कुरालाई मध्यनजर गर्दै अहिले नै व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीले पन्तलाई निर्देशन दिए ।

यस अघि परेको पानीले निकास नपाउँदा सडक अवरुद्ध भएको भन्दै प्रमुख जिल्ला अधिकारीले डाइभर्सनका कारण सडक अवरुद्ध हुन नदिन समयमा नै डाइभर्सन र पानीको निकासलाई व्यवस्थित गर्न निर्देशन दिए । निर्माणाधीन पूर्व – पश्चिम सडकको पूर्वी खण्डको अवलोकन गर्दै प्रमुख जिल्ला अधिकारीले सडक पूर्वाधार आयोजना प्रमुख सहित निर्माण व्यवसायीसँग छलफल समेत गरेका छन् ।

सडकका कारण कुनै पनि दुर्घटना हुन नहुने भन्दै प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी र आयोजना प्रमुखलाई जोखिमपूर्ण क्षेत्रको पहिचान गर्दै त्यस्ता ठाउँमा इन्धन भरेको स्काभेटरसहितका उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न सचेत गराएका छन् । वर्षाका कारण कुनै पनि विपद् आइलागे तत्काल त्यसको समाधानका लागि सचेत रहन उपकरण सहितको जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । झापाका चार स्थान अति जोखिमपूर्ण क्षेत्र रहेको औँल्याएका प्रमुख जिल्ला अधिकारीले अन्य जोखिमपूर्ण क्षेत्रमा समेत सडक दुर्घटना न्यूनीकरणका लागि ‘रिफ्लेक्टिर’ राख्न भनेका छन् । जसका लागि ट्राफिक प्रहरी र सडक आयोजनाको संयोजनमा काम हुनु पर्ने प्रमुख जिल्ला अधिकारीको भनाई छ ।

सडक निर्माणाधीन अवस्थामा रहेकाले सवारीलाई तीव्र गतिमा नकुदाउन उनले सबै सवारी चालकलाई अनुरोध गरेका छन् । यदि तीव्र गतिमा सवारी चलाइएको खण्डमा ट्राफिक प्रहरीले तत्कालै जरिवाना गर्ने प्रजिअ अधिकारीको भनाई छ ।

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी मात्र नभई यातायात व्यवसायी र सवारी चालक समेत गम्भीर बन्नु पर्ने प्रजिअ अधिकारीको भनाई छ ।

यसैबीच आयोजना प्रमुख पन्तले ट्राफिक प्रहरीसँगको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका विषयमा छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले निर्माणाधीन सडकको पछिल्लो अवस्थाका विषयमा जानकारी गराउँदै वर्षाको समयमा समेत सडकलाई अवरुद्ध हुन नदिने र त्यसका लागि आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने प्रतिबद्धता जनाए ।

छलफलका क्रममा जिल्ला प्रहरी कार्यालय झा पाका प्रहरी उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण नेपालका सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमिल्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेल लगायत सहभागी थिए ।

पूर्वी खण्डमा २० प्रतिशत प्रगति

एसियाली विकास बैङ्कको ८४ दशमलव १ प्रतिशत र नेपाल सरकारको १५ दशमलव ९ प्रतिशत लगानीमा ‘एसियन हाइवे’ निर्माणाधीन छ । काँकडभिट्टादेखि लौकही सडक खण्डसम्मलाई पूर्वी खण्ड सडक योजना नामकरण गर्दै निर्माणाधीन ‘एसियन हाइवे’को हालसम्म २० प्रतिशत काम सम्पन्न भएको छ । २०८० साल माघ १९ गतेदेखि निर्माण शुरु भएको काँकडभिट्टा – केर्खा पूर्वी खण्डको ४५ किलोमिटर सडक निर्माणको समष्टिगत रुपमा २० प्रतिशत काम भएको काँकडभिट्टा लौकही सडक आयोजना (पूर्वी खण्ड) प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए । उनका अनुसार झापाको चारआली, बिर्तामोड र चारपानेमा तीन वटा ओभरपास निर्माण गरिने छन् । जहाँ वीच बिन्दुबाट २५० मिटर पूर्व र २५० मिटर पश्चिमसम्म ओभरपास रहने छन् । त्यस्तै चारआली पश्चिम हात्तीका लागि समेत ओभरपास निर्माणको काम भइरहेको छ । त्यस्तै दुई लेनका २१ वटा पुल निर्माण गरिने छ ।

योजना प्रमुख पन्तका अनुसार हालसम्म १५१ वटा कल्भट निर्माण मध्ये ६० वटा सम्पन्न भएका छन् । त्यस्तै ५१ वटा चालू अवस्थामा रहेका छन् । २० वटा पुलको जग तथा सबस्ट्रक्चर निर्माण कार्य चालू रहेका छन् । त्यस्तै १० वटा मध्ये तीन वटाको बक्स ब्रिज निर्माण सम्पन्न भएका छन् ।

काँकडभिट्टादेखि केर्खासम्म ४५ किलोमिटर सडक निर्माणका लागि २०२३/१०/१९ मा सम्झौता भई २०२७ /०२/०१ मा निर्माण सम्पन्न हुने छ । ४-६ लेनको सडक निर्माणका लागि १० अरब ६ करोड रुपैयाँमा ठेक्का लागेसँगै काम भइरहेको र सडक निर्माणका क्रममा २१दशमलव ४९ प्रतिशत प्रगति भएको योजना प्रमुख पन्तको भनाई छ ।

यता सोही मितिमा सम्पन्न गर्ने गरी ५ अरब ९७ करोडमा निन्दा, विरिङ र कनकाई पुलको काम भइरहेको छ । जसको प्रगति १८ दशमलव ११ प्रतिशत काम भएको छ ।

हाल आयोजनाका लागि सडक फिलिङ गर्ने माटोको अभाव, विद्युत् पोल हटाई साइड क्लियरेन्स कार्य सुस्त रहेको आयोजना प्रमुख पन्तले बताए । उनका अनुसार दुई हजार ४ सय पोल हटाउनु पर्नेमा ७० प्रतिशत मात्रै पोल सार्ने काम भएको छ । सडक निर्माणका लागि सिमेन्ट तथा डन्डीमा मूल्य उतारचढाव , दक्ष कामदारको अभावका कारण पनि सडक निर्माणले गति लिन नसकेको उनको भनाई छ ।

पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

‘एसियन हाइवे’ निर्माणका क्रममा पश्चिम खण्डमा पूर्वी खण्डमा भन्दा बढी प्रगति भएको पाइएको छ । पश्चिम खण्डमा २३ प्रतिशत काम भएको आयोजनाले जनाएको छ । पश्चिम खण्डमा झापा, मोरङ र सुनसरी जिल्लामा पर्छ । शुरु बिन्दु सितापुरीदेखि पश्चिम खण्ड लाविपूर सुनसरी सम्म हो । यसको लम्बाइ ५० दशमलव ७६ किलोमिटर रहेको छ ।

आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार मङ्गलबार देखि लक्ष्मीमार्गबाट एक लेन कालोपत्रेको काम प्रारम्भ भएको हो । निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ । एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमीमा मात्र काम भइरहेको छ ।

सम्बन्धित समाचार