इलामको रोङमा लम्पीस्किन संक्रमित गोरु मर्यो, १०६ चौपाया संक्रमित
इलाममा ‘लम्पी स्किन’ संक्रमणबाट गोरुको मृत्यु भएको पुष्टि भएको छ । ‘लम्पी स्किन’ संक्रमणबाट यस वर्ष पहिलो पटक इलामको रोङ गाउँपालिकामा संक्रमित गोरु मरेको हो । भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इलामका प्रमुख राघवेन्द्र तिवारीले लम्पीका कारण गोरुको मृत्यु भएको पुष्टि गरे ।
यस वर्ष मात्रै इलामका १० पालिकामध्ये ९ वटा पालिकामा लम्पीस्किन रोगको प्रकोप देखिएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इलामले जानकारी दिएको छ । सबैभन्दा धेरै संक्रमित चौपाया माई नगरपालिकामा ३० वटा भेटिएको छ ।
त्यसपछि रोङ गाउँपालिकामा २५, फाकफोकथुम गाउँपालिकामा १४, देउमाई नगरपालिकामा १२, माईजोगमाई गाउँपालिकामा ७, सुर्योदय र चुलाचुली गाउँपालिकामा ५/५, र माङ्सेवुङ तथा इलाम नगरपालिकामा ४/४ चौपाया संक्रमित भएका छन् । भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थानीय निकायसँग समन्वय गरी लम्पीविरुद्धको खोपलाई तिब्र पारेको छ भने निगरानी र रोकथामको काम अघि बढाइएको छ ।
संक्रमण रोकथामका लागि केन्द्रले पशुपालकहरूलाई सतर्क रहन, संक्रमित जनावर अलग राख्न र तुरुन्त नजिकको भेटरिनरी, पालिका वा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।