कनकाईको स्थानीय पाठ्यक्रममा चित्रकार राजवंशीको जीवनी समावेश
स्थानीय तहले आफ्नो क्षेत्रमा एउटा पाठ्यपुस्तक लागू गर्ने सक्ने प्रावधान रहेको छ । स्थानीय तहको परिचय, स्थानीय क्षेत्रको विकास, नैतिक शिक्षा, संस्कार, भाषा र पहिचानका विषयलाई समेटेर कतिपय स्थानीय तहले पुस्तक प्रकाशन गरेर कक्षागत रुपमा लागू समेत गरेका छन् ।
झापाको कनकाई नगरपालिका अन्तरगतको शिक्षा, युवा तथा खेलकुद शाखाले पनि स्थानीय विषय पाठ्यपुस्तक तयार गरेको छ । नगरपालिकाले स्थानीय विषयका रुपमा कक्षा–७ मा कनकाई ज्ञान माला तयार गरेको हो ।
ज्ञान मालामा स्थानीय समाजसेवीदेखि चर्चित हास्य कलाकारहरूलाई समेत समेटिएको छ । त्यस मध्ये पूर्वाञ्चल दैनिकका कार्टुनिष्ट प्राज्ञ पवन राजवंशीको जीवनी अब कनकाईका विद्यार्थीले पढ्न पाउने भएका छन् । कला साहित्य, गीत–सङ्गीत, समाज सेवा मार्फत समाज र राष्ट्रलाई योगदान पु¥याउने व्यक्तिहरूको विषयलाई समेटेर नगरले स्थानीय पाठ्यक्रम तयार गरेको हो ।
जसमा प्राज्ञ राजवंशीको बारेमा समेत पाठ्य पुस्तक तयार गरेको हो । कनकाई ज्ञानमाला अन्तरगत एकाइ–४ मा राष्ट्र र राष्ट्रियता शीर्षक अन्तरगत प्राज्ञ राजवंशीको व्यक्तित्वको चर्चा गर्दै जीवनी समेटिएको छ । जसमा प्राज्ञ राजवंशीसहित राजा राजेन्द्र पोख्रेल, हिम्मत नेम्वाङ, मित्रप्रसाद दाहाल, कोमलप्रसाद पोख्रेल र गोपालप्रसाद सङ्ग्रौलाको जीवनी समेत समेटिएको छ ।
स्थानीय पाठ्यक्रममा कुनै व्यक्तिको नाम समावेश हुनु भनेको त्यो व्यक्ति मात्र होइन, सम्पूर्ण समाजको गौरव र प्रेरणाको प्रतीक बन्दै अहिले सामाजिक सञ्जालहरूमा चर्चा भइरहेको छ । प्राज्ञ राजवंशीले स्थानीय तहको शैक्षिक पाठ्यक्रममा समावेश हुनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन् ।
पत्रकार समेत रहेका कार्टुनिष्ट राजवंशीको जीवनी कनकाई नगर फलिकाको कक्षा ७ को स्थानीय पाठ्यक्रम कनकाई ज्ञानमालाको पेज नं.१२२ र १२३ मा समावेश गरिएको छ । चित्रकलाका माध्यमबाट नेपाली कला र संस्कृतिको विकासका लागि अनवरत साधना गर्ने एक कुशल कालिगड हुन्–पवनकुमार राजवंशी । कनकाई नगरपालिका–९ घैलाडुब्बा(मन्त्रिबारी) निवासी उनको जीवनी अब नगरका सबै विद्यालयमा पठन–पाठन हुने भएको छ ।
मौलिकता र स्थानीयता सँगै अघि बढ्ने शैक्षिक यात्राको थालनी स्वरूप प्राज्ञ राजवंशीको जीवनी समेटेर नगरपालिकाले अग्रज र समाजमा विशेष योगदान पु¥याउने व्यक्तिको पहिचान गर्दै कला क्षेत्रका व्यक्तिलाई समेत पाठ्यपुस्तकमा समेटेको भन्दै प्राज्ञ राजवंशीले कनकाई नगरपालिका तथा नगरको शिक्षा शाखालाई विशेष धन्यवाद दिए । उनले चित्रकलाका माध्यमबाट समेत समाजमा विशिष्ट योगदान दिन सकिन्छ भन्ने प्रेरणा विद्यार्थीमा जाग्रित हुने विश्वास व्यक्त गर्दै सबै स्थानीय तहहरूले आफ्नो क्षेत्रका रहेका विषयमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरूको जीवनीलाई स्थानीय पाठ्यक्रममा समेट्न सुझाव दिएका छन् ।