२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोडमा मदरसाका विद्यार्थीलाई तयारी पोशाक वितरण

sajilo news
झापा
२०८२ असार ८ गते , आईतबार
बिर्तामोडमा मदरसाका विद्यार्थीलाई तयारी पोशाक वितरण

बिर्तामोड नगरपालिका-३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। आइतबार एक संक्षिप्त कार्यक्रमकाबीच नगर प्रमुख पवित्रा महतारा प्रसाईँले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक रेणुका थापा खातुनलाई १ सय ६३ जना विद्यार्थीका लागि तयारी गरिएको पोशाक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले नगरपालिकाले प्रत्येक वर्ष ४० लाख रुपैयाँ बराबरको पोशाक वितरण गर्दै आएको जानकारी दिइन्। पोशाक वितरणले अभिभावकलाई राहत मिलेको उल्लेख गर्दै उनले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिन अभिभावक र विद्यालयलाई आग्रह गरिन्।

त्यसैगरी, शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले सबै विद्यार्थी एउटै प्रकृतिको पोशाकमा कक्षा कोठामा बसुन्, पोशाक हुने र नहुने विद्यार्थीबीच भेदभाव नहोस्, र शिक्षण–सिकाइमा सुधार होस् भन्ने उद्देश्यले विगत ४ वर्षदेखि पोशाक वितरण कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानले नगरपालिकाले विद्यालय सञ्चालनमा वार्षिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे। उनले गएको वर्षदेखि एक जना बाल शिक्षकको समेत व्यवस्था गरिएकोमा नगरपालिकाप्रति आभार व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका सदस्य अफ्सर अहमदको अध्यक्षतामा सम्पन्न उक्त पोशाक वितरण कार्यक्रममा मुस्लिम धर्मगुरु मोहम्मद सज्जादले दुआ पढेका  थिए। मदरसा तालिमुल कुरान धार्मिक विद्यालय हो । कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईको विशेष आतिथ्य रहेको थियो । 

बिर्तामोड नगरपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयहरूका कक्षा ५ सम्मका विद्यार्थीहरूलाई हरेक वर्ष पोशाक वितरण गर्दै आएको छ। चालू आर्थिक वर्षमा १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालय गरी जम्मा २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोशाक वितरण गर्ने कार्य सञ्चालन भइरहेको छ।

सम्बन्धित समाचार