इरानको मिसाइल हमलापछि कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो, सतर्क रहनू
काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन भनेको छ। सोमबार इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा हवाई हमला गरेपछि नोली दूतावासले आफ्ना नागरिकलाई सतर्क रहन सूचना जारी गरेको हो ।
‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ’, सूचनामा भनिएको छ, ‘कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ।’
जारी इजरायल र इरान द्वन्द्वबीच अमेरिकाले शनिबार इरानतर्फ आक्रमण तीव्र पारेपछि इरानले जवाफी हमला गरेको अधिकारीहरूले बताएका छन् ।
करिब ४ लाख नेपाली कार्यरत कतारमा इरानको तर्फबाट मिसाइल प्रहार भएसँगै त्रास उत्पन्न भएको छ । इरानबाट कतारको सनैयामा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरिएको अन्तरार्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।