भद्रपुर नगरपालिकाको सहयोगमा तोरी तेल मिल सञ्चालन
भद्रपुर । भद्रपुर-७ स्थित शान्तिटोलमा साना किसान कृषि सहकारी संस्था चन्द्रगढीले तोरी तेल मिल सञ्चालनमा ल्याएको छ । स्थानीय कृषि उत्पादनको सदुपयोग र शुद्ध तेलको बढ्दो मागलाई मध्यनजर गरी सहकारी संस्थाले तोरी तेल मिल सञ्चालनमा ल्याएको हो । उप प्रमुखसँग कृषक समूह सहयोग कार्यक्रम अन्तर्गत भद्रपुर नगरपालिका कृषि विकास शाखाको आर्थिक सहयोग र सहकारी संस्थाको व्यवस्थापनमा २५ प्रतिशत लागत सहभागितामा अत्याधुनिक तेल पेल्ने मेसिन खरिद गरी मिल सञ्चालनमा ल्याएको संस्थाकी अध्यक्ष देविमाया अधिकारीले जानकारी दिइन् ।
यसले उत्पादन संकलन, प्रशोधन र बजार व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुका साथै कृषकहरूको आयमा वृद्धिसँगै रोजगारी समेत सृजना गर्ने अध्यक्ष अधिकारीले बताइन् । साथै कृषकहरूको उत्पादनलाई मूल्यवर्धक गर्दै, उनीहरूको आर्थिक स्थितिमा सुधार ल्याउनेछ । सहकारीको सक्रिय सहभागिताले यसलाई अझ प्रभावकारी बनाउने संस्थाको उद्देश्य रहेको उनको भनाई छ ।
भद्रपुर नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले बुधवार बिहान एक कार्यक्रमबीच स्विच थिचेर मिलको उद्घाटन गरेका थिए । मिलको समुद्घाटन कार्यक्रम बोल्दै नगर प्रमुख पोखरेलले नगरपालिकाको सहयोगमा सञ्चालनमा आएको तोरी मिलले तोरी, सरसों लगायत कृषि उत्पादनमा वृद्धि, रोजगारी सिर्जना, कृषकहरूको आयमा वृद्धि र सहकारी मार्फत सिधा बजारमा पहुँच पुग्नेमा आफू विश्वस्त रहेको बताए ।
नगरपालिकाले रोजगारीमुखी उत्पादनमा जोडन दिन कृषकलाई विभिन्न किसिमका सहयोग गरिरहेको उनको भनाई छ । त्यस्तै उपप्रमुख कार्कीले महिलाहरूको संस्थामार्फत सञ्चालनमा आएको यस मिलले रोजगारीसँगै बजारीकरणमा सहयोग पुग्ने बताइन् । अब बजारमा पाइने अशुद्ध तेल भन्दा पनि आफैले उत्पादनको गरेको शुद्ध तेल खानु पर्ने उनको भनाई छ । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक सीतादेवी ढकाल गुरागाईँ, भद्रपुर १० नम्बर वडा अध्यक्ष टेक बहादुर खड्का ९काजी० लगायतले मन्तव्य राखेका थिए ।