२०८३ बैशाख ३ गते , विहीबार

झापामा भूमाफियाको चलखेलमा विद्यालयको भवन भएकै जमिन व्यक्तिको नाममा पास

sajilo news
झापा
२०८२ श्रावण १ गते , विहीबार
झापामा भूमाफियाको चलखेलमा विद्यालयको भवन भएकै जमिन व्यक्तिको नाममा पास

झापाको शिवसताक्षी नगरपालिका–११ स्थित ‌राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले विगत पाँच दशकभन्दा बढी समयदेखि उपभोग गर्दै आएको जग्गा व्यक्तिका नाममा बकस पास भएको खुलेको छ।

जग्गासँगै सो जग्गामा निर्माण भएको सरकारी स्थायी संरचना समेत व्यक्तिको नाममा पास भएको खुलासा भएको हो। विद्यालयले २०२६ सालदेखि उपभोग गर्दै आएको उक्त जग्गा व्यक्तिको नाममा बकस पास भएको खबर सार्वजनिक भएपछि स्थानीय आश्चर्यमा परेका छन्। सो जग्गामा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको भवन र साबिकको स्रोत केन्द्र भवन पनि पर्दछ ।

२०८० साल माघ २८ गते सोही क्षेत्रभित्र पर्ने साबिकको कित्ता नम्बर १७१०१ हालको कित्ता नम्बर १९३४७ को १ कट्ठा ८ धुर ३ पाउ जग्गा मालपोत कार्यालय दमकमा विमला कडरिया थापाको नाममा पास भएको थाहा भएपछि विवाद सतहमा आएको हो।

जग्गाका पूर्वधनी लगनबहादुर कडरियाले आफ्नी श्रीमती र दुई छोराको जानकारीविना एकल निर्णयमा छोरी विमलाको नाममा बकस पास गराएको उल्लेख छ। थप चासोको विषय यो पनि छ कि सो जग्गा पास गर्न वडा कार्यालयबाट सार्वजनिक बाटो र घरको सिफारिस समेत लिइएको छ । जुन कार्यमा वडा अध्यक्ष बहादुर आङ्बो ले हस्ताक्षर गरेका छन्।

तर वडा अध्यक्ष आङ्बोले भने आफू कडरियाबाट झुक्काइएको प्रतिक्रिया दिएका छन्। उनले भने, “लगनबहादुर कडरियाको छोरीको छोरा सिफारिस लिन आएका थिए। मैले तीन–चार पटक सोधेँ—स्कुलको जग्गा हो कि होइन भनेर। तर उनले होइन, यो स्कुल बाहिरको छुट्टै जग्गा हो भनेर झुक्क्याए। त्यसपछि सिफारिस दिएको हुँ।”

आङ्बोले थपे, “मैले उहाँहरूलाई पटक पटक भनेको छु—जसको नाममा थियो, उसैको नाममा फिर्ता गर्नुस्। नत्र वडा कार्यालयबाट कानुनी प्रक्रिया अघि बढ्छ।” स्थानियबासीका अनुसार उक्त जग्गा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको अत्यन्तै महत्त्वपूर्ण क्षेत्रमा पर्छ। उनीहरूको भनाइमा एक धुर जग्गाको मूल्य १० लाख रुपैयाँसम्म पुगेको छ। सो हिसाबले हाल बकस पास भएको १ कट्ठा ८ धुर जग्गाको बजार मूल्य करिब २ करोड ८० लाख रुपैयाँ बराबर रहेको अनुमान छ।

उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी दिइसकिएको उजुरीकर्ताले बताएका छन्। उजुरीमा संलग्न सबै पक्षहरू कडरियापुत्री विमला थापा, सिफारिस लिने नाम नखुलेका व्यक्ति, वडा अध्यक्ष आङ्बो र सो विशेषसँग जोडिएका कागजात, सिफारिस विवरण, विद्यालय क्षेत्रको नक्सा र तस्बिरहरू झिकाई अनुसन्धान गरी दोषी देखिए प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको आयोगमा निवेदन प्राप्त भएको स्रोतले जनाएको छ ।

यसैबीच विद्यालयका प्रधानाध्यापक गिरिराज शेर्माले विद्यालयको स्थायी संरचना निर्माण भएको जग्गा व्यक्तिको नाममा बकस पास भएको जानकारी साताअघि मात्र प्राप्त भएको बताए । उनले प्राविधिक पक्ष केलाउन थालिएको बताएका छन्। लगनबहादुर का ज्वाइँ महेन्द्र थापाले आफू कागजी र कानुनी हिसाबले स्ट्ररङ रहेको बताए । वडा अध्यक्षले आफूलाई झुक्काएको आरोप को खण्डन गर्दै उनले भनेका छन् ‘वडा अध्यक्षज्यूलाई हामीले झुक्काएका होइनौँ।’

सम्बन्धित समाचार