२०८३ बैशाख ३ गते , विहीबार

झापामा करिब १८ सय डेंगु संक्रमित, सबै भन्दा बढी बिर्तामोडमा, त्यसपछि दमक र बुद्धशान्ति

sajilo news
झापा
२०८२ श्रावण ७ गते , बुधबार
झापामा करिब १८ सय डेंगु संक्रमित, सबै भन्दा बढी बिर्तामोडमा, त्यसपछि दमक र बुद्धशान्ति

झापामा करिब १८ सय जनालाई डेंगु संक्रमण भएको देखिएको छ । त्यसमध्ये जिल्लामा सबैभन्दा बढी बिर्तामोडमा डेंगुका बिरामी देखिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालका अनुसार बैशाख १ गतेदेखि साउन ५ गतेसम्म जिल्लामा डेंगु सङ्क्रमितहरूको सङ्ख्या १ हजार ७९८ पुगेको हो ।

त्यसमा बिर्तामोडमा सबैभन्दा बढी ९३२, त्यसपछि दमकमा ५३६ र बुद्धशान्तिमा २३२ जना रहेका छन् । साउन ५ गते एकैदिन ३ जनामा डेंगु पुष्टि भएको थियो । यस वर्ष झापामा डेंगु सङ्क्रमणबाट एकजनाको मृत्यु भइसकेको छ ।

डेंगु फैलाउने लामखुट्टे (Aedes) बाट बच्ने उपाय:

  1. पानी जम्न नदिनुहोस्:

    • फूलदानी, टायर, ट्यांकी, बाल्टिन, कुलर, प्लास्टिकका कप आदि जस्ता ठाउँमा पानी जम्न नदिनुहोस्।

    • सातामा कम्तीमा एकपटक यस्ता भाँडाहरू खाली वा सफा गर्नुहोस्।

  2. सजगता अपनाउनुहोस्:

    • बिहान र बेलुका लामखुट्टे सक्रिय हुने समय हो, त्यसबेला पूरै शरीर ढाक्ने लुगा लगाउनुहोस्।

    • बालबालिका, वृद्ध र गर्भवती महिलालाई विशेष सावधानी अपनाउनुहोस्।

  3. लामखुट्टे भगाउने उपाय:

    • मच्छरदानी (झुल) प्रयोग गर्नुहोस्, विशेषगरी दिउँसो सुत्दा पनि।

    • लामखुट्टे भगाउने क्रिम वा स्प्रे प्रयोग गर्नुहोस्।

  4. घर वरिपरि सरसफाइ राख्नुहोस्:

    • झाडी, घाँसपात काट्ने।

    • पानी जम्ने ठाउँमा बालुवा हाल्ने या ढाकेर राख्ने।

  5. झ्याल र ढोकामा जाली लगाउनुहोस्:

    • लामखुट्टे भित्र पस्न नपाउने गरी झ्याल र ढोकामा नेट (जाली) लगाउनुहोस्।


डेंगुको लक्षण देखिए के गर्ने?

  • ज्वरो (४०°C सम्म)

  • टाउको दुखाइ, आँखामुनि दुख्ने

  • जोर्नी र मांसपेशी दुख्ने

  • शरीरमा र्‍याश आउनु

  • बान्ता वा बान्ता हुनेजस्तो महसुस

 यी लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुहोस्। आफैंले औषधि नखानुहोस्, विशेषगरी एस्पिरिन वा आइबुप्रोफेनजस्ता औषधि।

सम्बन्धित समाचार