नेपाली भाषामा अनुवाद गरिएको 'शिव महापुराण' पुस्तकको लोकार्पण
विनोद सापकोटा । हिन्दुधर्मको गहन र प्राचीन ग्रन्थमध्ये एक शिव महापुराण अब नेपाली भाषामा पनि पढ्न सकिने भएको छ । संस्कृतमा रचित २४ हजार श्लोकहरूसहितको यो विशाल धार्मिक ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरिएको हो ।
गरी एकैसाथ व्याख्या गरिएको पुस्तकको लोकार्पण झापाको सताक्षी धामस्थित गोलोक गोवर्धन गौशालामा मंगलबार भव्य धार्मिक समारोहबीच सम्पन्न भयो ।
शिव महापुराणलाई हिन्दु धर्मको अष्टादश महापुराणमध्ये एक अत्यन्त महत्त्वपूर्ण ग्रन्थ मानिन्छ । यस पुराणमा भगवान् शिवको उत्पत्ति, विवाह, उपदेश, अवतार, भक्तिभाव र आध्यात्मिक शिक्षाहरू विस्तारपूर्वक समेटिएका छन् । धार्मिक, सांस्कृतिक तथा दार्शनिक दृष्टिले यो पुराणको महत्त्व अपार रहेको पुस्तक लोकार्पण कार्यक्रममा बताइएको छ । यो ग्रन्थले जीवनको गहिरो रहस्य, धर्मको सार र मोक्षको बाटो देखाउने भएकाले हिन्दू सनातन धर्मावलम्बीहरूका लागि अत्यावश्यक मानिन्छ ।
ग्रन्थमा कुल ७ संहिताहरू छन् । विद्येश्वर संहिता, रुद्र संहिता, शतरुद्र संहिता, कोटिरुद्र संहिता, उमा संहिता, कैलाश संहिता र वायवीय संहिता । यी सबै संहितामा समेटिएका २४ हजार संस्कृत श्लोकहरूलाई नेपालीमा स्पष्ट व्याख्यासहित अनुवाद गरिएको अनुवादक आचार्य पण्डित विदुर प्रसाद दाहाल (विहारी शरण ) ले बताए ।
विहारि शरणले भारतको वृन्दावनमा संस्कृतको अध्ययन गरी नेपाल फर्किएपछि पुराण र साहित्यमा स्नातकोत्तर गरेका थिए । उनी अफ्रिका हुँदै अहिले संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका छन् । उनले ग्रन्थको अनुवाद कार्यमा झन्डै पाँच वर्ष समय खर्चिएको जानकारी दिए । नेपालीमा अनुवाद गरिएको शिव महापुराण ग्रन्थ ७४३ पृष्ठको छ । यसको सम्पादन यादव प्रसाद भण्डारीले गरेका हुन् । घिमिरे संस्कृत भाषाका ज्ञाता हुन् । पुस्तकको बजार मूल्य १९९९ रुपैयाँ राखिएको छ ।
पुस्तकको लोकार्पण कार्यक्रममा भारत तथा नेपालका आचार्य महापुरुष र विदषीको उल्लेखनीय उपस्थिति रहेको थियो । गोलोक गोवर्धन गौशालाका उपाध्यक्ष वेदप्रकाश अग्रवालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा आचार्य लक्ष्मीप्रसाद खतिवडा, स्वामी निर्वशेषानन्द , अनुवादक आचार्य बिहारी शरण, गौशालाका संरक्षक नन्दकेश्वरजी महाराज, साधवी सीता सहचरी, आचार्य छन्दुराम भण्डारी, त्रिफला राष्ट्रिय पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश फलाहारी, शिवशताक्षी नगरका शिक्षा अधिकारी छवि ढकाल लगायत धार्मिक तथा सामाजिक व्यक्तित्व यज्ञराज ओलीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।
कार्यक्रममा अनुवादक बिहारी शरणका श्रीमती भुवनेश्वरी, छोरा रमण, छोरी दीक्षा पनि उपस्थित थिए । दीक्षाले मन्त्रमुग्ध बनाउने शैलीमा आफ्नो संस्कार, संस्कृति र धर्मको संरक्षणका विषयमा गहिरो अभिव्यक्ति दिइन् । उनले भनेकी थिइन्, ‘हाम्रो संस्कार, संस्कृति र परम्परा कुनै हालतमा मेटिनु हुँदैन । धर्मको रक्षा गर्नु हामी सन्तानहरूको धर्म हो ।’
कार्यक्रममा श्री शताक्षी गुरुकुलमका अध्यापक सन्तोष नेपालले अतिथिहरूको स्वागत गरेका थिए भने कथा व्यास समाज नेपालका महासचिव राघव उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए । शिव महापुराणलाई नेपालीमा अनुवाद गर्नुको उद्देश्य पछिल्लो पुस्तालाई हिन्दू धर्मग्रन्थहरूको गहिरो मर्म बुझाउन सहज बनाउनु भएको अनुवादक विहारी शरणले बताए । ‘संस्कृत भाषामा रहेका ग्रन्थहरू सबैले सहज पढ्न सक्दैनन् । नेपाली भाषामा उपलब्ध हुँदा यस्ता धर्मग्रन्थ जनसाधारणका लागि बुझ्न र व्यवहारमा उतार्न सजिलो हुन्छ,’ उनले भने । विशेषगरी नेपाली मूलका पाठकहरूले धार्मिक ज्ञानलाई आफ्नै भाषामा आत्मसात् गर्न यो पुस्तकबाट सक्नेछन् ।
अनुवादक बिहारी शरणका अनुसार यो ग्रन्थ केवल धार्मिक र बजारीकरणका लागि मात्र नभएर सांस्कृतिक एकता र सनातन परम्पराको संरक्षणका निम्ति पनि अत्यन्त महत्त्वपूर्ण दस्ताबेज बन्नेछ । उनले लोकार्पण स्थल सताक्षी धामलाई भगवान् शिव–पार्वतीसँग जोडिएको पवित्र तीर्थस्थल भएकाले यहीँ पुस्तक विमोचन गर्नु उचित ठानेको बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले भने, ‘सत्य नै शिव हो, शिव नै सत्य हुन् ।’ उनीहरूले नेपाल र भारतका बहुसङ्ख्यक हिन्दुहरू एक भएर आफ्नो धर्म, संस्कार, परम्परा र इतिहासलाई जीवन्त राख्न आह्वान गरे ।