२०८३ बैशाख ३ गते , विहीबार

काँकडभिट्टा नाकाबाट १९ अर्ब ९४ करोडबराबरको पेट्रोलियम पदार्थ आयात

sajilo news
झापा
२०८२ श्रावण ८ गते , विहीबार
काँकडभिट्टा नाकाबाट १९ अर्ब ९४ करोडबराबरको पेट्रोलियम पदार्थ आयात

गत आर्थिक वर्ष २०८१-८२ मा पूर्वीनाका काँकडभिट्टाबाट १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टीतेल आयात भएको हो ।  

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०-८१ को तुलनामा ९० करोड ८२ लाख अर्थात् चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने छ दशमलव ५० प्रतिशत अर्थात् ५९ करोड ६९ लाख १० हजारले बढेको सूचना अधिकारी हुमागाईंले बताए ।

कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१-८२ मा पेट्रोलियम पदार्थ आयातबाट ९ अर्ब ७१ करोड ३२ लाख ९२ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा ८ अर्ब ९२ करोड ८५ लाख मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी, सात अर्ब तीन करोड ३२ लाख मूल्य पर्ने ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ ।

यसैगरी, उक्त अवधिमा दुई अर्ब ८२ करोड मूल्य पर्ने २५ हजार ५६८ मेट्रिकटन एलपी ग्यास, ६६ करोड चार लाख मूल्य पर्ने सात हजार २९२ किलोलिटर एटीएफ र २५ करोड ४९ लाख मूल्य पर्ने दुई हजार ८५२ किलोलिटर मट्टीतेल आयात भएको छ ।

सम्बन्धित समाचार