भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामाग्री वितरण
भद्रपुर । भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामाग्री वितरण गरिएको छ । कोशी सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको साझेदारी तथा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न प्रकारका सहयोगी सामाग्री वितरण गरिएको हो ।
उनीहरूलाई भद्रपुर नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले सहयोगी सामाग्री वितरण गरेका थिए । अपाङ्गता सहयोगी सामाग्रीतर्फ १८ जनालाई व्हिल चियर, ११ जनालाई श्रवण यन्त्र, ३ जनालाई एयर म्याट्रेस, ३६ जनालाई लौरो, ७ जनालाई चियर, ८ जनालाई कम्बोर्ड चियर, एक जनालाई वैशाखी, एक जनालाई स्पाईरोमिटर, ८ जनालाई वाकर र ९ जनालाई क्वाड्रिपोड वितरण गरिएको स्वास्थ्य शाखाका कर्मचारी नरेन्द्र प्रधानले जानकारी दिए । त्यस्तै सीपमूलक तथा व्यावसायिक तालिमको मागमा आधारित वस्तुगत टेवा कार्यक्रममा ३ जनालाई इलेक्ट्रिक सिलाई मेसिन, १ जनालाई साधारण सिलाई मेसिन,
विद्यालयमा अध्ययनरत ४२ जना अपाङ्गता भएका बालबालिकाहरूलाई ब्याग तथा स्टेश्नरी, ओछ्यानमा भएका ३२ जना पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिक उपचार सामग्री र १५ जना शिशु तथा २१ जना वयस्कलाई डाइपर वितरण गरिएको उनले बताए । गत आर्थिक वर्षको स्वीकृति कार्यक्रम अनुसार खरिद गरिएको सहयोगी सामाग्री वितरण गरिएको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन । नगरपालिकाले गत वर्ष १३ लाख ६१ हजार १९३ रुपैयाँको सहयोग सामग्री खरिद गरेको उनले बताइन् । सहयोग सामग्री वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले नगरपालिका करुणा फाउन्डेसनसँग सहकार्य गरी कार्य योजना बनाएर अघि बढेको बताए ।
अपाङ्गता भएका व्यक्तिलाई निराश नभई ऊर्जावान् बनाउन नगरपालिका लागि परेको बताउँदै उनले भने, 'उनीहरूलाई सामाजिक रूपान्तरणमा अघि बढाउने अभियानमा छौँ ।' वितरण गरिएको सामग्रीले उनीहरूको स्वास्थ्यसँगै रोजगारीमा पनि सहयोग पुग्ने उनको विश्वास छ । त्यस्तै नगर उपप्रमुख राधा कार्कीले अपाङ्गता भएका व्यक्तिले आफूलाई कमजोर नठान्ने आग्रह गरेकी छिन् । शारीरिक रुपमा कमजोर भए पनि उनीहरू आत्माले कमजोर नभएको बताउँदै उनले भनिन्, 'आत्मबल र मनोबल उच्च बनाएर अघि बढ्नु पर्छ, हामी तपाईँहरूको साथमा छौँ ।'