२०८३ बैशाख ३ गते , विहीबार

प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनबाट साउन ३० गतेदेखि इमरजेन्सीसहित अन्तरङ्ग सेवा

sajilo news
पार्थ मण्डल
२०८२ श्रावण १५ गते , विहीबार
प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनबाट साउन ३० गतेदेखि इमरजेन्सीसहित अन्तरङ्ग सेवा

भद्रपुर । झन्डै एक वर्षअघि नयाँ भवनबाट ओपिडी सेवा सञ्चालनमा ल्याएको प्रादेशिक अस्पताल भद्रपुरले इमरजेन्सीसहित अन्तरङ्ग सेवा पनि सञ्चालन ल्याउने भएको छ । अन्तरङ्ग सेवा सञ्चालन ल्याउन अघि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले बिहीबार शुभसाइत पारी अस्पतालमा विधिवत् रूपमा सत्यनारायणको पूजाअर्चना गरेका थिए ।

शुभसाइत कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, अस्पताल सञ्चालन समितिका अध्यक्ष विश्वराज बराल लगायतको उपस्थिति रहेको थियो । २०८१ भदौ १ गतेदेखि अस्पतालले नयाँ भवनबाट ओपिडी सेवा सञ्चालन ल्याएको थियो । 

इमरजेन्सीसहित अन्तरङ्ग सेवा पुरानै भवनबाट सञ्चालन हुँदै आइरहेको थियो । आगामी साउन ३० गतेदेखि नयाँ भवनबाट इमरजेन्सी सेवा, शल्यक्रिया सेवा, आइसियु, स्त्रीरोग तथा प्रसूति सेवा सुरु गर्न लागिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गुप्ताले जानकारी दिए । 'आज शुभसाइत पारेर पूजाआर्चना गरेका छौँ,' उनले भने, 'कोठाहरू व्यवस्थापन भई स्वास्थ्य सामग्री र उपकरण जडानको काम धमाधम हुँदैछ, अबको १५ दिनभित्र अन्तरङ्ग सेवा सञ्चालनमा आउँछ ।' पीडियाट्रिक वार्ड, फार्मेसी र एनआइसीयू सेवा पनि छ्ट्टिै सञ्चालन ल्याउने तयारी रहेको उनको भनाई छ । 

२२ करोड ६१ लाख ३७ हजार ३५२ रुपैयाँको लागतमा दुई वर्षअघि सो भवन निर्माण भएको थियो । माथिल्लो तलाका लागि थप बजेट पनि निकासा भइसकेको छ । नयाँ भवन ५० बेडको अवधारणमा बनेको हो । अस्पतालमा अहिले ११० बेड सञ्चालनमा रहेको छ । अस्पताल प्रशासन ११० बेड नै सञ्चालन गर्ने योजनाका साथ अघि बढेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । योसँगै इको र इन्डोस्कोपी सेवा पनि सञ्चालन ल्याउन कोठा व्यवस्थापन भइसकेको उनले बताए । 

सम्बन्धित समाचार