२०८३ बैशाख ३ गते , विहीबार

दुर्लभ रोग लागेकी अनुश्रीको बिर्तामोड चिल्ड्रेन अस्पतालमा सफल उपचार

sajilo news
झापा
२०८२ श्रावण २० गते , मंगलबार
दुर्लभ रोग लागेकी अनुश्रीको बिर्तामोड चिल्ड्रेन अस्पतालमा सफल उपचार

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–५ चाँदनी चोककी दिपा गिरी आफ्नो नौ महिनाको छोरी अनुश्री गिरीलाई एक्कासि छारे आउँदै रुन थालेपछि आत्तिन । गत साउन २ गते बिहान ४ बजेदेखि अचानक सुतिरहेको अवस्थामा  नानीलाई छारेले भेट्यो । लगातार रुपमा नरोकिकन् छारे आइरह्यो । त्यो दिनको घटना सम्झिँदै आमा दिपाले भनिन्–मैले हतार हतार नजिकैको क्लिनिकमा लगे । त्यहाँबाट तुरुन्त बच्चाको आइसियु भएको अस्पताल लैजान सुझाव दिएपछि सिधै बिर्तामोड चिल्ड्रेन अस्पताल ल्याए । यहाँ ल्याएपछि चिकित्सकको निगरानी र नर्सहरूको केयर देख्दा अब मेरो नानी ठिक हुन्छ भन्ने विश्वास लागेको थियो । आज त्यो विश्वास पुरा भएको छ । म ज्यादै खुसी छु ।

बिर्तामोड चिल्ड्रेन अस्पतालका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रूपक आचार्यले अनुश्रीलाई जटिल अवस्थामा अस्पताल भर्ना गरेको र उनलाई सुपर-रिफ्रैक्टरी स्टेटस एपिलेप्टिकस नाम रोग लागेको बताए । यो एक प्रकारको दुर्लभ र अनौठो रोग हो ।  विश्वमा प्रत्येक १० लाखमा ४२ जनालाई लाग्ने रोग हो । २४ घण्टासम्म छारे नरोकिनु ज्यानको खतरा हो । तर, चिकित्सकको निरन्तरको निगरानी तथा नर्सिङ क्षेत्रबाट राम्रो हेरचाह भएमा यस्ता रोगहरू पनि निको पार्न सकिन्छ भन्ने उदाहरण बिर्तामोड चिल्ड्रेन अस्पतालले सफलता पूर्वक उपचार गरेर प्रमाणित गरेको छ ।

छारे आएपछि एक पटक औषधि प्रयोग गरे पछि रोकिनुपर्ने हो ।  तर, अनुश्रीलाई भने तीन डोजसम्म औषधि प्रयोग गर्दा समेत छारे रोक्न मुस्किल परेको थियो । डा. आचार्यले भने–यस्तो अवस्थामा भेन्टिलेटरमा राखेर निरन्तर चिकित्सक र अनुभवी नर्सिङ स्टाफको निगरानीका कारण यो रोग निको पार्न सम्भव भयो । उनले कति पय अवस्थामा बालबालिकाको ज्यानै जान सक्ने खतरा रहेको बताए ।  शिशु तथा बालबालिकामा अचानक छारे आएर ज्वरो आए तथा कुनै समस्या आएका तत्काल उपचार गरेमा उसमा हुने अन्य शारीरिक दुर्बलतालाई कम गर्न सकिने डा. आचार्यको भनाई छ ।

४–५ दिनको अन्तरमा बिस्तारै नानीको छारे आउने क्रम घट्दै गएको र केही दिनको पिआईसीयू भेन्टिलेटरको उपचारपछि नानीलाई बिस्तारै भेन्टिलेटरबाट निकाल्न सम्भव भयो । डा. आचार्यले भने– छारे पूर्णरुपमा रोकियो अहिले नानी खाने, खेल्ने, गफ गर्न थालेको छ । सोमबार हामीले नानीलाई डिस्चार्ज गरेका छौँ ।  यो बिर्तामोड चिल्ड्रेन अस्पतालका चिकित्सक तथा नर्सिङ स्टाफ निरन्तरको प्रयासले सफल भएको हो । यसमा हामी निकै खुसी छौँ ।

बिर्तामोड चिल्ड्रेन अस्पतालकी नर्सिङ इन्चार्ज गोमा सिटौलाले अभिभावको सहकार्यले गर्दा नै नानीको उपचारमा सफलता हासिल गरेको बताइन् । भेन्टिलेटरमा राख्दा डक्टरको मेहनत, नर्सिङको टिम तथा अभिभावकले गरेको सहकार्य तथा विश्वासकै कारण नानीको उपचार सफल भएको उल्लेख गरिन् । २४ सै घण्टा चिकित्सकको निगरानी हुने भएकाले पछिल्लो समय बिर्तामोड चिल्ड्रेन अस्पतालले सबैको विश्वास जित्दै गएको छ । 

सम्बन्धित समाचार