२०८३ बैशाख ३ गते , विहीबार

सामाजिक सञ्जालमा भाइरल बनेको शिशुको भिडियोबारे बोल्यो बिर्तामोड चिल्ड्रेन हस्पिटल (विज्ञप्तिसहित)

sajilo news
झापा
२०८२ श्रावण २२ गते , विहीबार
सामाजिक सञ्जालमा भाइरल बनेको शिशुको भिडियोबारे बोल्यो बिर्तामोड चिल्ड्रेन हस्पिटल (विज्ञप्तिसहित)

बिर्तामोड । सामाजिक सञ्जालमा भाइरल बनेको एउटा बच्चाको भिडियो बारेमा फैलिएको भ्रामक खबरबारे बिर्तामोड चिल्ड्रेन हस्पिटलले आपत्ति जनाएको छ । अर्जुनधारा नगरपालिका- ५ का रामबहादुर गिरी नामको फेसबुक पेजबाट प्रसारण भएको भिडियोप्रति आपत्ति जनाउँदै हस्पिटल प्रशासनले  बिरामी बच्चाको शारीरिक अवस्था बारेमा स्पष्ट पारेको छ । 
हस्पिटलले आज पत्रकार सम्मेलन गर्दै  तीन दिनअघि अस्पतालबाट डिस्चार्ज भएकी शिशुका हजुरबुवा रहेका गिरीले फेसबुकबाट जनमासमा भ्रम फैलाउँदै अस्पताल र चिकित्सकको बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएको हो  । 

घटनाअनुसार अर्जुनधारा-५ चाँदनी चोककी दिपा गिरीले साउन २ गते बिहान ४ बजेदेखि अचानक सुतिरहेको अवस्थामा नानीलाई छारेले भेटेपछि नजिकैको क्लिनिकमा लगेकी थिइन् । तर, त्यहाँबाट आइसियु भएको अस्पताल लैजान सुझाव दिएपछि उनी बिर्तामोड चिल्ड्रेन अस्पताल पुगेकी थिइन् । १७ दिनको उपचारपछि अस्पतालले शिशु अनुश्रीलाई डिस्चार्ज दिएको थियो । डिस्चार्ज गर्नु पाँच दिनअघिदेखि उनी हाँस्ने र उज्यालो भएपछि अस्पतालले घर लैजान भनेको हो । अस्पतालका अनुसार शिशुमा दुर्लभ र अनौठो सुपर रेफ्रेक्ट्री रेस्टटस एपिलेप्टिकस नाम रोग लागेको जनाएको छ । यो रोग विश्वमा प्रत्येक १० लाखमा ४२ जनालाई लाग्ने रोग हो ।


यो रोग छारे रोगजस्तै हुने र समयमै अस्पताल ल्याएकाले गिरीको उपचार सम्भव भएको अस्पतालले जनाएको छ । अस्पतालले घर लैजानुअघि शिशुका आमालाई सबै सल्लाह दिएर पठाएको भिडियो सुरक्षित रहेको छ । तर, घर लगेको दुई दिनपछि शिशुको हजुरबुवा रामबहादुरले अस्पताललाई लाञ्छना लगाउँदै धामी झाँक्रीमा लगेर नातिनी देखाएको बताउँदै अस्पतालले राम्रोसँग उपचार नगरेको आरोप लगाएका छन् ।

छारे रोगको औषधि नियमित एकै समयमा खानुपर्ने र नखाँदा बिरामीको अवस्था झन् जटिल बन्दै जाने चिकित्सकहरू बताउँछन् । तर, रामबहादुरले प्रसारण गरेको भिडियोमा शिशुलाई औषधि दिनुको सट्टा धामी झाँक्रीतर्फ लागेको बताएका छन् ।बिरामीको अवस्था बिग्रँदै गए पुनः अस्पतालमा ल्याउनुपर्नेमा हेलचेक्र्याइँ गरिएको अस्पतालका प्रमुख नवजात शिशु तथा बालरोग विशेषज्ञ डक्टर रूपक आचार्यले बताए ।

उपचार सफल भएपछि शिशुकी आमा गिरीले भनेकी थिइन्, यहाँ ल्याएपछि चिकित्सकको निगरानी र नर्सहरूको केयर देख्दा अब मेरो नानी ठिक हुन्छ भन्ने विश्वास लागेको थियो । आज त्यो विश्वास पूरा भएको छ । म ज्यादै खुसी छु ।’

यसैबीच, पत्रकार सम्मेलनमा अस्पतालकी अध्यक्ष लीला मैनालीले रामबहादुर गिरीले उपचार खर्चबापतको रकम मागेका बताइन् । उनले भिडियो प्रसारण गरेपछि शिशुको घरमा पुगेर अस्पताल भर्ना गर्न आग्रह गर्दा उल्टै रकम माग गरेको बताइन् ।

‘शिशुको टाउकोमा समस्या रहेको र उनको तत्काल इइजी गर्नुपर्ने र उक्त सुविधा बिर्तामोडमा नरहेको अस्पतालले गिरी परिवारलाई जानकारी गराएका थियो । इइजी गरेर ल्याएपछि मात्रै शिशुको डिस्चार्ज गर्न सकिने र उक्त अवधिमा औषधिको मात्रा मिलाउनुपर्ने भने पनि अभिभावकले शिशुलाई घर लैजाने र केही दिनमा भारत लैजाने भनेपछि अस्पताल प्रशासनले परिवारलाई सकुशल नानी जिम्मा लगाएको फोटो, भिडियो सबै सामग्री सुरक्षित छ’, अस्पतालले भनेको छ ।

सम्बन्धित समाचार