२०८३ बैशाख ३ गते , विहीबार

किचकबध र चन्द्रगढी प्रवर्द्धनका लागि भद्रपुर मिनी म्याराथन : महिलातर्फ पुष्पा र पुरुषतर्फ करण प्रथम

sajilo news
पार्थ मण्डल
२०८२ श्रावण २७ गते , मंगलबार
किचकबध र चन्द्रगढी प्रवर्द्धनका लागि भद्रपुर मिनी म्याराथन : महिलातर्फ पुष्पा र पुरुषतर्फ करण प्रथम

भद्रपुर चौथो खुल्ला यूथ मिनी म्याराथन (दौड) प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । भद्रपुर नगर युवा परिषद्ले स्थानीय पर्यटकीय स्थल किचकबध र चन्द्रगढी प्रवर्द्धनका लागि आयोजना गरेको प्रतियोगितामा महिलातर्फ पुष्पा शेर्मा र पुरुषतर्फ करण राउत प्रथम भएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित मिनी म्याराथनमा ताप्लेजुङ जिल्ला हाल दमक बस्ने पुष्पाले १३ किलोमिटर दौड ५४ मिनेट ४७ सेकेन्डमा र राष्ट्रियस्तरको एथलेटिक्स खेलाडी बझाङका करणले १९.२ किलोमिटर दौड १ घण्टा ८ मिनेटमा पूरा गरेका थिए ।  
त्यस्तै प्रतियोगितामा महिलातर्फ दमककी यदिका देवान द्वितीय, भद्रपुरकी बिन्दा राई तृतीय र भद्रपुरकी रिता मुर्मु चौथो भएकी थिइन् । त्यसैगरी पुरुषतर्फ स्याङ्जाका धनु मानन्धर द्वितीय, दमकका शरद सिंह तृतीय र दमकका सागर लिम्बु चौथो भएका थिए । 
प्रथम, द्वितीय, तृतीय र चौथो हुनेहरूलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजारले पुरस्कृत गरिएको थियो । साथै प्रतियोगितामा सहभागी भएकाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । 
प्रतियोगितामा खाली खुट्टा १३ किलोमिटर दौड पूरा गरेकी भद्रपुर ६ की जमुना क्षेत्रीलाई सम्मान स्वरूप नगद दुई हजारले पुरस्कृत गरिएको थियो । युवा परिषद्ले यस पटक पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि चन्द्र गडदेखि किचकबधसम्म केन्द्रबिन्दु बनाएर दौड गराएका थिए । पुरुषहरूले चन्द्रगढबाट सुरु गरेको दौड चैतुबारी, धनुषमोड, चारआली रोड हुँदै एयरपोर्ट मोड, क्याम्पसमोड, अस्पताल मोड, भद्रपुर नगरपालिका अगाडिबाट झापाचोक, ज्ञानेचोक, सगरमाथा चोक, चारआली चोक, धिमलधुरा हुँदै किचकबधमा पुगेर समापन गरेका थिए । 
त्यस्तै महिलाहरूको दौड भद्रपुर नगरपालिका कार्यालय अगाडिबाट सुरु भई झापा चोकबाट सोही रुट हुँदै किचकबधमा पुगेर समापन भएको नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले जानकारी दिए । 
कार्यक्रममा बोल्दै नगर युवा परिषद्का अध्यक्ष तथा नगर प्रमुख गणेश पोखरेलले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्थानीय पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि नगरपालिकाले म्याराथन प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए । 
कोशी सरकारले पर्यटन वर्ष मनाइरहेको अवस्थामा नगर क्षेत्रका पर्यटकीय स्थलहरूको प्रवद्र्धन र संरक्षण हाम्रो दायित्व रहेको बताउँदै नगर प्रमुख पोखरेलले भने, ‘किचकबध र चन्द्रगढ ऐतिहासिक स्थल हो, यी स्थलहरूको प्रवद्र्धन गरी पर्यटन भित्राउने मुख्य लक्ष्य हो ।’ त्यस्तै नगर उपप्रमुख राधा कार्कीले प्राचीन इतिहास बोकेको किचकबध र चन्द्रगढलाई जोडिएर गरिएको यस प्रतियोगिताले यसको पहिचानसँगै पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने बताइन् । 
१० नम्बर वडा अध्यक्ष टेकबहादुर खडका, २ नम्बर वडा अध्यक्ष राम कँडेल लगायतले मन्तव्य राखेको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल, भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले गरेका थिए ।

सम्बन्धित समाचार