रजनीकान्तको ‘कुली’ चलचित्रको पाइरेसी रोक्न उच्च अदालतले दियो आदेश
रजनीकान्तको चलचित्र ‘कुली’ आज बिहीबारबाट विश्वव्यापी रिलिज भएको छ । अहिले यो चलचित्रले अग्रिम बुकिङबाटै २४.६४ करोड रुपैयाँको व्यापार गरिसकेको छ । यो चलचित्रले आज पहिलो दिन भारतमा ३२.६६ करोड रुपैयाँको व्यापार गर्ने अनुमान गरिएको छ ।
यो चलचित्रको रिलिजसँगै पाइरेसी रोक्नको लागि मद्रास उच्च अदालतले सबै इन्टरनेट सेवा प्रदायकहरू र केबल नेटवर्क कम्पनीहरूलाई बुधवार आदेश दिएको छ । जसमा उनीहरूले चलचित्रको कुनै पनि पाइरेटेड संस्करण कुनै पनि अनलाइन प्लेटफर्ममा स्ट्रिम गर्न पाउने छैनन् ।
यति मात्र होइन, अदालतले आदेशमा यो पनि भनेको छ कि यदि पाइरेसी भयो भने, निर्माताहरूले ठुलो नोक्सान भोग्न सक्छन् । त्यो नोक्सान सम्बन्धित केबल नेटवर्क तथा इन्टरनेट कम्पनीबाट असुर गरिने छ । त्यसैले पाइरेटेड संस्करण स्ट्रिम गर्ने सबै साइटहरू र तिनीहरूका आईएसपीहरूलाई पनि ब्लक गर्न सो अदालतले बुधवार आदेश दिएको छ । यसरी कुलीको दृश्यहरू रिलिज गर्नको लागि आईएसपीहरुबाटै बन्देज गरिए पछि पाइरेटेड संस्करण रिलिज हुन पाउने छैन ।
यो चलचित्र केरला र कर्नाटक लगायत अन्य राज्यका चलचित्र घरमा बिहीबार बिहान ६ बजेबाटै सोहरू सुरु हुँदै छन् । तर तमिलनाडुमा बिहान ९ बजे अघि चलचित्र प्रदर्शनमा राज्य सरकारले रोक लगाएका कारण त्यहाँ ‘कुली’ को पहिलो सो बिहान ९ बजे सुरु हुनेछ ।
यो चलचित्रमा रजनीकान्तसँगै नागार्जुन, सौबिन शाहीर, उपेन्द्र, श्रुति हासन, सत्यराज, रचिता राम, रेबा मोनिका जोन, जूनियर एमजीआर, कन्ना रवि, मोनिषा ब्लेसी र काली वेंकटसहित बलिउड अभिनेता आमिर खान विशेष भूमिकामा छन् । चलचित्रलाई लोकेश कनागराजले निर्देशन गरेका हुन् ।