रासायनिक मलको अभाव भइरहेको बेला भद्रपुरमा डिलरहरुको अनुगमन गर्दै नगरपालिका
भद्रपुर । देशभर रासायनिक मलको अभाव भइरहेको बेला भद्रपुर नगरपालिकाले रासायनिक मलको विक्री केन्द्रहरूको अनुगमन गरेको छ । कृषकले रासायनिक मलमा सहजता पुगोस्, मल वितरण प्रक्रिया पारदर्शी होस् भन्ने उद्देश्यले भद्रपुर नगर कृषि विकास शाखाले मलको विक्री केन्द्रहरूको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा नगरपालिकाले निर्धारण गरेको बिक्री मूल्यमा वितरण भएको नभएको, नगर भित्रका कृषकले पाएको नपाएको उद्देश्य राखेर अनुगमन गरिएको शाखाका कर्मचारी सुमन बिमली जानकारी दिए । अनुगमनका क्रममा युरिया मल चाहेको बेला डिएपी मल आएको र डिएपी चाहेको बेला युरिया मल आएको कारणले समस्या उत्पन्न भएको अधिकांश डिलरहरूले गुनासो पोखेको उनले बताए ।
भद्रपुरमा कृषि सामग्री कम्पनी बिर्तामोड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बिर्तामोडबाट इजाजत पत्र प्राप्त १७ वटा डिलर रहेका छन् । जहाँ मलको आवश्यकता , कृषि योग्य जमिनको आधारमा मलको कोठा निर्धारण हुन्छ । नगरपालिकाले नगर भित्र युरिया मुल्य प्रति बोरा ९१० र डिएपी प्रति बोरा २३६० कायम गरेको छ ।