झापाका चार पालिकामा मंगलबार तीज पर्वको स्थानीय बिदा
झापाको चार पालिकाले हरितालिका तीज पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ । हल्दिबारी गाउँपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गरी भोलि मंगलबार तीज पर्वको अवसरमा स्थानीय बिदा दिएको हो । मंगलबार मनाइने तीज पर्वका दिन अति आवश्यकबाहेक गाउँपालिकाको कार्यालय, वडा कार्यालय, विद्यालय तथा गाउँपालिकाअन्तर्गतका सबै निकाय बन्द रहने सूचनामा भनिएको छ । विशेष गरी सरकारले तीज पर्वमा महिला कर्मचारीलाई मात्र बिदा दिँदै आइरहेको छ ।
हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन्।
यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।