ब्राउन सुगरसहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ
लागूऔषध ब्राउनसुगरसहित एकजना सशस्त्र प्रहरी हवल्दार पक्राउ परेका छन् । गएराति ८ बजे मोरङको रतुवामाई नगरपालिका १ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालीनी मोरङ दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगा मोरङमा कार्यरत पर्सा वीरगन्ज ७ रानीघाट बस्ने ३४ वर्षीय सशस्त्र प्रहरी हवल्दार मनिस गिरी लागू औषधसहित पक्राउ परेका हुन् ।
उनी सुत्ने ओछ्यानको सिरानीमुनि खुकुरी चुरोटको बट्टाभित्र कालो रंगको प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा प्लास्टिकसहित ४८० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । उनलाई लागू औषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ ।
उता मोरङमै लागूऔषध नियन्त्रणमा लिने क्रममा २ जना प्रहरी घाइते भएका छन् । गएराति ९ः२० बजे सुनवर्षी नगरपालिका ९ भेरुवाथानबाट उत्तरतर्फ भित्री रोडमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीको कमान्डमा खटिएको प्रहरी टोलीले बीआर ११ भी६७३४ नं. को भारतीय मोटरसाइकलमा सवार दुई जनामाथि शंका लागेर रोक्न खोज्दा नरोकेपछि प्र.१–०२–०४५ प ३३९२ नं. को मोटरसाइकलमा चढेर पिछा गर्दै जाँदा दुई वटै मोटरसाइकल ठक्कर खाई दानवारिमा लड्दा दुईजना प्रहरी घाइते भएका छन् ।
घाइते हुनेहरूमा प्रहरी चौकी घुर्मी उदयपुर दरबन्दी भएका प्रहरी सहायक हवल्दार धर्मध्वज कार्की र उच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन इलाम दरबन्दी भएका प्रहरी सहायक हवल्दार किरण अधिकारी रहेका छन् ।
घाइते भएका दुवै प्रहरीहरू रङ्गेली अस्पताल रंगेलीमा उपचारपश्चात् डिस्चार्ज भएका छन् । उनीहरूको मोबाइल पानीमा झरेर क्षति भएको छ । उक्त भारतीय मोटरसाइकलमा सवार मानिसहरू फरार भएका छन् भने मोटरसाइकलबाट ट्रामाडोल क्याप्सुल १७,९४० थान फेला परेको छ । सो भारतीय मोटरसाइकल नियन्त्रणमा लिई इप्रका रंगेलीमा राखिएको छ ।