२०८३ बैशाख ४ गते , शुक्रबार
भद्रपुरमा किराना पसल फोडेर चोरी गर्ने दुई युवक पक्राउ
भद्रपुरमा चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-६ का २४ वर्षीय सागर जैसवाल र सोही ठाउँ बस्ने २० वर्षीय दिनेश कामती रहेका छन् । उनीहरूलाई बिहीबार बेलुका ७ बजे भद्रपुर नगरपालिका ६ स्थित बाटोमा हिँडडुल गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूले भदौ १७ गते राति भद्रपुर नगरपालिका- ४ फुटानी चोकमा रहेको महेन्द्र राजवंशीको किराना पसलको ढोका र गल्लाको ताल्चा फोडी गल्लामा राखेको नगद ५० हजार चोरी गरेका थिए । घटनाको अनुसन्धानको क्रममा राजवंशीको पसलमा जडान गरिएको सीसी क्यामेरा फुटेजको आधारबाट ती दुई जनाको पहिचान भएको थियो ।
दुवैलाई आज जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।