झापामा करिब एक सय जना थुनुवा फरार
झापामा करिब एक सय जना थुनुवा फरार भएका छन् । जेनजी प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय बिर्तामोड र दमकमा तोडफोड र आगजनी गर्दा थुनुवाहरू भागेका हुन् । प्रदर्शनकारीहरूले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय दमकमा रहेका ४० जना थुनुवाहरू फरार भएको एक प्रहरी अधिकारीले बताए । त्यस्तै बिर्तामोडमा ५० जनाको हाराहारीमा रहेका थुनुवा भागेको अनुमान गरिएको छ । सबै कागजपत्र र सरसामान जलेर नष्ट भएकाले थुनुवाको सङ्ख्याबारे जानकारी दिन नसकिने एक प्रहरी अधिकारीले बताए ।
लामो झडपपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रवेश गरी ठुलो सङ्ख्यामा रहेका प्रदर्शनकारीहरूले तोडफोड , आगजनी र लुटपाट मच्चाएपछि प्रहरीहरू आत्मसमर्पण गरी एकसरो लुगामा त्यहाँबाट भागेर ज्यान जोगाएका थिए ।
अहिले प्रदर्शनकारीहरूको निशानामा परेका प्रहरी कार्यालयहरू खाली गरी सबै प्रहरीहरू जिल्ला प्रहरी कार्यालयमा एकत्रित भएका छन् । त्यहीबाट प्रहरीले संयुक्त कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।