झापामा आज साँझ ५ बजेसम्म कर्फ्यू लागू
झापा । झापामा आज पनि कर्फ्यू लगाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार आज बिहान ८ बजेबाट साँझ ५ बजे सम्म पुनः कडाइका साथ कर्फ्यू लागू गरिएको बताए । गत भाद्र २३ र २४ गतेको जेनजी नेतृत्वको आन्दोलन समाप्त भए पश्चात् केही अराजक तत्त्वहरूले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्ने प्रयास गरिरहेकोले जिल्लामा शान्ति र सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउने सन्दर्भमा हिजो दिउसो ३ बजेबाट झापा जिल्लाभर आवतजावत गर्न, भेला हुन, सभा जुलुस प्रदर्शन गर्न, बैठक गर्न, घेराउ गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यू जारी गरिएकोमा थियो ।
आज पनि त्यसैलाई कडाइका साथ निरन्तरता दिएको प्रजिअ अधिकारीले बताए । कर्फ्यूको अवधिमा अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र निस्कनै पर्ने जरुरी काम परेमा सुरक्षा निकायसँग सम्पर्क गरी अनुमति लिएर मात्र निस्कन अनुरोध गरिएको छ । कर्फ्यूको अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, शबबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूका सवारीसाधन) भने सञ्चालन हुन सक्ने प्रशासनको सूचनामा उल्लेख छ ।