२०८३ बैशाख ४ गते , शुक्रबार

बाटोमै लुटिए भारतबाट फर्किँदै गरेका यात्रु

sajilo news
रासस
२०८२ भाद्र २७ गते , शुक्रबार
बाटोमै लुटिए भारतबाट फर्किँदै गरेका यात्रु

भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बाटोमै लुटिएका छन्। पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा सेतो रङको स्कुटरमा आएका तीन अपरिचित व्यक्तिले हतियार देखाई कालिकोट जिल्ला पलाता गाउँपालिका- ७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई लुटेका हुन्। 

‘सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडेका थियौँ’, कलमबहादुरले भने, ‘स्कुटरमा आएका तीनअपरिचित व्यक्तिले खुकुरी देखाउँदै मेरो मोबाइल खोसे। त्यसपछि मेरो साथमा रहेको १४ हजार भारतीय रुपैयाँ पनि खोसे। राजमार्गमा अर्को यात्रु चढेको मोटरसाइकल नजिकै आउन थालेको देखेपछि भागे।’ कलम, नैनबहादुरसँगै सिंहराज खत्री, कलबहादुर खत्री र अभिराज धामी पनि थिए।
 
दुई जनालाई लुटेराहरूले लुटे पनि तीन जना भने लुटिनबाट जोगिएका छन्। ‘भारतमा मजदुरीका लागि दुई महिनाअघि मात्र गएका हौँ’, कलमबहादुरले भने, ‘भारतमा पनि गतिलो मजदुरीको काम पाइएन, काम पाइए पनि कहिले बाढी, कहिले वर्षाले काम गर्न नपाइएपछि फर्केका हौँ, बीच बाटोमै लुटिएपछि बिचल्लीमा परेका छौँ।’

लुटपाट भएकोबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी गराइएको नैनबहादुरले बताए। प्रहरी निरीक्षक राजेश बस्नेतले पीडितले दिएको हुलियाका आधारमा लुटेराहरूको खोजतलास भइरहेको जानकारी दिए।

सम्बन्धित समाचार