कारागारबाट भागेका दुई जना कैदी झापाका सीमा क्षेत्रमा समातिए
झापाका सीमावर्ती क्षेत्रमा कारागारबाट भागेका दुईजना कैदीबन्दी पक्राउ परेका छन् । लागूऔषध ओसारपसार कसुरमा दोषी ठहरिएर काठमाडौँस्थित सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेकी झापा गौरीगञ्ज गाउँपालिका-६ खजुरगाछी घर भएकी ५० वर्षीया अञ्जली खातुन पक्राउ परेकी हुन् ।
गएराति ११ः१५ बजे सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्ज र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलमा गस्ती गर्ने क्रममा भारततर्फ भाग्दै गरेको अवस्थामा खातुनलाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ । जेनजीको आन्दोलनका क्रममा उनी सुन्धारा कारागारबाट भदौ २४ गते फरार भएकी थिइन् ।
त्यस्तै कारागारबाट फरार भएका अर्को एक युवक भारतीय सीमा क्षेत्रमा पक्राउ परेका छन् । बुधवार राति करिब १० बजे भारत–नेपाल सीमामा पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त टोलीले काठमाडौँको कारागारबाट भागेर आएका मोरङ विराटनगर-३ का सुरज कामतलाई पक्राउ गरेको छ । मोरङको आमवारी हुँदै ई–रिक्सा र पैदल उनी भारतीय सीमामा प्रवेश गरेका थिए । लागूऔषधको अभियोगमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए । बिहीबार कैदी कामतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाएको जनाइएको छ ।