२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुर नाका खुलेपनि सर्वसाधारणलाई सास्ती, काँकडभिट्टा पाँच दिनदेखि ठप्प

sajilo news
पार्थ मण्डल
२०८२ भाद्र २८ गते , शनिबार
भद्रपुर नाका खुलेपनि सर्वसाधारणलाई सास्ती, काँकडभिट्टा पाँच दिनदेखि ठप्प

झापा । जेनजी पुस्ता समूहको आन्दोलन अराजक बन्दै आगजनी र तोडफोडका घटना भएसँगै भारतीय एसएसबीले बन्द गरेको झापाको भद्रपुर–गलगलिया सीमा सञ्चालनमा आएको छ । जिल्लाकै काँकडभिट्टा–पानीटंकी नाका भने अझै ठप्प रहेको छ । 
भदौ २४ गते प्रदर्शनकारीहरूले सीमा नाकामा रहेका भन्सार तथा प्रहरी कार्यालयहरूमा आगजनी र तोडफोड गरेपछि सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी भारतीय एसएसबीले सीमा नाकामा आउजाउ बन्द गरेका थिए । प्रदर्शनकारीहरूले भद्रपुर भन्सार, वडा प्रहरी कार्यालय र मेची पुल प्रहरी बिटमा आगजनी गरेलगतै भारतीय एसएसबीले भद्रपुर–गलगलिया नाका बन्द गराएका थिए । तीन दिन बन्द गरिएको सो नाका शुक्रवारबाट सञ्चालनमा आएपनि सर्वसाधारण दुःख पाइरहेको छ । 
पहिला सहजै रुपमा परिचयपत्र देखाएर आउजाउ गरिरहेका सर्वसाधारण अहिले  घण्टौँ लाइनमा बस्नु परेको अवस्था आएको छ । भद्रपुरतर्फ कुनै अवरोध छैन । भारततर्फ मात्र समस्या छ । एसएसबीले पैदल यात्री वा दुई पाङग्रे सवारीसाधनलाई सीमामै रोकेर परिचयपत्र पत्र हेरी खाता राखेर नाम लेख्न थालेका छन् । भारत जाँदा पनि नाम लेखाउनु पर्छ, आउँदा पनि नाम लेखाउनु पर्ने एसएबसीले अहिले नियम बनाएको स्थानीयहरू बताउँछन् । 
‘लाइनमा बसेर नाम लेखाउनै कम्तीमा आधा घण्टा समय लागिरहेको स्थानीय विजय गुरुङले भने, ‘बोर्डर खुल्ला भएपनि सर्वसाधारण जनताले सास्ती चाहिँ झेल्नु परेको छ ।’ भारततर्फ नाम लेखाउने लाइन देखेर कतिपय सर्वसाधारण त्यतिकै नेपाल तर्फ फर्किएको उनको भनाई छ । काँकडभिट्टा नाका बन्द रहेकोले त्यहाँबाट भारततर्फ जानेहरू पनि यही नाका भएर आउँदा झन् भीडभाड बढेको स्थानीयहरूको भनाई छ । 
उता काँकडभिट्टा नाका सर्वसाधारणका लागि पाँच दिनदेखि ठप्प रहेको छ । स्थानीय पत्रकार प्रवीण अधिकारीका अनुसार पेट्रोलियम पदार्थको टंयाकरबाहेक भारतबाट केही आउन दिएको छैन । ‘चाडपर्व नजिकिइरहेको बेला सीमा नाकामा चहलपहल बढ्नु पर्नेमा विगत पाँच दिन देखि काँकडभिट्टा क्षेत्र सुनसान छ,’ पत्रकार अधिकारीले भने । प्रदर्शनकारीले काँकडभिट्टा नाकामा रहेका मेची भन्सार कार्यालय, ट्राफिक पोस्ट, अध्यागमन कार्यालय र इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

सो घटना पश्चात् सोही दिन एसएसबीले नाका बन्द गराएका थिए । यता झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार झापा जिल्लामा शनिबारबाट कफ्र्यु हटाएको र अब क्रमशः सीमा नाकाहरू पनि खुल्दै जाने बताए । बिर्तामोड, दमक र भद्रपुरमा चाहिँ निषेधाज्ञा जारी रहेको उनको भनाई छ ।


 

सम्बन्धित समाचार