झुम्का कारागारबाट भागेका चार कैदी झापाका सीमावर्ती क्षेत्रमा पक्राउ
झुम्का कारागारबाट भागेका चारजना कैदी झापाका सीमावर्ती क्षेत्रमा पक्राउ परेका छन् । शुक्रबार १०:४० बजे नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय एसएसबीले पानीटंकीमा पक्राउ गरी दुईजना कैदीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा खटिएको गस्ती टोलीलाई बुझाएको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी-१४ बस्ने वर्ष ३० का शिव सरदार (लागूऔषध मुद्दा ) र झापा मेचीनगर-१० बस्ने वर्ष ३२ का शत्रुकुमार राजवंशी ( कर्तव्य ज्यान मुद्दा ) रहेका छन् ।
त्यस्तै झुम्का कारागारबाट फरार एक जना कैदी मेचीनगरमा पक्राउ परेका छन् । शुक्रबार दिउँसो २ः१५ बजे मेचीनगर –१५ कालिका सीमा क्षेत्रस्थित बिओपी ज्यामिरगढीबाट गएको गस्ती टोलीले झुम्का कारागारबाट भागेर भारततर्फ जाँदै गरेका कर्तव्य ज्यान मुद्दाका कैदी सुनसरी इटहरी –१५ नरवेसा बस्ने वर्ष २९ का जयनारायण चौधरीलाई नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।
त्यस्तै झुम्का कारागारबाट भागेका अर्का एक कैदी गौरीगञ्जमा पक्राउ परेका छन् । शुक्रबार साँझ ७.४० बजे सशस्त्र प्रहरी बल, नेपाल बिओपी कुञ्जीबारीबाट खटिएको गस्ती टोलीले गौरीगञ्ज- १ स्थित कुञ्जीबारी इलाकामा गस्ती गर्ने क्रममा झुम्का कारागारबाट भागेका एक कैदीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारी कसुर ठगीमा सुनसरी रामधुनी- ५ झुम्का कारागारमा कैद सजाय भुक्तान गरिरहेका भोजपुर च्याङ्ग्रे घर भई हाल धरान १५ त्रिवेणी चौक बस्ने अन्दाजी वर्ष ५६ का कृष्णबहादुर विश्वकर्मा रहेका छन् । उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि प्रहरी चौकी कोरोबारीमा बुझाइएको छ। यसअघि कारागारबाट भागेका दुईजना कैदी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ परेका थिए ।