२०८३ बैशाख ४ गते , शुक्रबार

झुम्का कारागारबाट भागेका थप एक कैदी झापामा पक्राउ

sajilo news
झापा
२०८२ भाद्र ३० गते , सोमबार
झुम्का कारागारबाट भागेका थप एक कैदी झापामा पक्राउ

झुम्का कारागारबाट भागेका अर्का कैदी झापामा पक्राउ परेका छन् । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते झुम्का कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका ४ बस्ने ४५ वर्षीय बलबहादुर राईलाई नियन्त्रणमा लिइएको हो । राईलाई हिजो दिउँसो २ः२० बजे उनका छोरा कविन राईले जिल्ला प्रहरी कार्यालय झापामा ल्याई बुझाएका थिए । यसअघि झुम्का कारागारबाट भागेका चार जना कैदी झापामा पक्राउ परेका थिए ।

उता झुम्का कारागारबाट फरार भएका भोजपुर टेम्केमैयुङ गाउँपालिका ९ बस्ने ६१ वर्षीय जयबहादुर राई हिजो बिहान ११ः५५ बजे भोजपुर नगरपालिका ६ मा पक्राउ परेका छन् ।

यसैबीच झुम्का कारागारबाट भागेर घर पुगेका एक कैदीले आफ्नै घाँटी रेटेर आत्महत्या गर्ने प्रयास गरेका छन् । झुम्का कारागारबाट भदौ २४ गते भागेका लागूऔषध मुद्दाका कैदी सुनसरी बराहक्षेत्र-७ धिमाल चोक बस्ने २८ वर्षीय ईश्वर थापाले गएराति ११ः३० बजे दाउले आफ्नै घरमा आफैले घाँटी रेटेका हुन् । घाइतेलाई उपचारको लागि आफन्तले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन् ।

झुम्का कारागारबाट भागेका एक हजार ५ सय ७५ जना कैदी बन्दीमध्ये १ हजार २ सय ९७ जना अझै फरार रहेका छन् ।

सम्बन्धित समाचार