२०८३ बैशाख ४ गते , शुक्रबार

सहकारीमा कार्यरत रेश्मिका जंगलमा मृत भेटिइन्

sajilo news
पत्रपत्रिका
२०८२ आश्विन १ गते , बुधबार
सहकारीमा कार्यरत रेश्मिका जंगलमा मृत भेटिइन्

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार शंकास्पद अवस्थामा मृत फेला परेकी छिन् । सोही गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिकाको भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला परेकी हुन् ।

सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार रेश्मिकाको भदौ ३० गते अपरान्ह चार बज्न लाग्दा कार्यालयबाट बाहिरिएकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजीका क्रममा उनी सडक भन्दा करिब १५० मिटर तल पर्ने मार्से सामुदायिक वनको झाडीमा मृत अवस्थामा भेटिएकी हुन् । स्थानीयबाट घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकी विज्ञ टोलीसहित अनुसन्धानका लागि घटनस्थल पुगेका छन् ।

घटनास्थललाई स्थानीयको सहयोगमा प्रहरीले सुरक्षित राखेको छ । घटनास्थलमा प्रहरी चौकी याङ्सोलाटार, छितापोखरी, भँडारेघाट र याम्खाको टोली गएरातिदेखि नै खटिएका छन् । घटनास्थलको प्रकृति हेर्दा रेश्मिकाको हत्या भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । मृतकका माईती पक्ष आइनपुगेकाले लास घटनास्थलमै रहेको सहकारी संस्थाका अध्यक्ष तामाङले जानकारी दिए ।

घटना शंकास्पद रहेकाले मृतकको लास पोस्र्टमाटमका लागि धरानको घोपा लाने तयारी गरिएको छ । घटनास्थलका प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार मृत फेला परेकी रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको छ भने सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिएको स्थानीयले बताएका छन् ।

घटनास्थलको विवरण अनुसार त्यो भन्दा केही तल झोला र अन्डरवेर भेटिएको जनाइएको छ र घटनास्थलको सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा रेश्मिकाको शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । अन्डरवेर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्थामा देखिएको घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

मृतकका आफन्तका अनुसार घटना अघि तिरतिरेधारामा अपरान्ह ४ः५३ बजेतिर रेश्मिका र श्रीमानबीच फोन सम्पर्क भएको थियो र त्यसको केही समयपछि रातामाटाबाट जङ्गलतर्फ जानेबेला रेश्मिकाको पारपानीका आफन्तसँग भेट भएको थियो । त्यो भेटमा रेश्मिका ‘डराएको हाउभाउ’मा देखा परेको जनाइएको छ र खोजीगर्ने क्रममा राति करिब नौँ बजेको समयमा मृत फेला परेको स्थानीयले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका पूर्वअध्यक्ष एवम् स्थानीयवासी रामप्रसाद दंगालले रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै अपराधी पत्ता लगाएर कानूनी कारबाही गर्न सामाजिक सञ्जालमार्फत माग गरेका छन् । सामुदायिक वनमा शंकास्पद अवस्थामा मृत फेला परेकी रेश्मिकाको श्रीमान र एक छोरी छन् र सात वर्षकी एकमात्र छोरीलाई काठमाडौँमा राखेर पढाउँदै श्रीमान–श्रीमती घरमा बस्दै आएको स्थानीयले बताएका छन् । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार