लागूऔषधका मुख्य कारोबारी बिर्तामोडका खरेल कारागार चलान
लागूऔषधका मुख्य कारोबारी झापा बिर्तामोडका भानुभक्त खरेल कारागार चलान भएका छन् ।
झापा जिल्ला अदालतले बिर्तामोड नगरपालिका-५ का ५० वर्षीय खरेललाई आज पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । उनका सहयोगी अर्जुनधारा-६ बस्ने २५ वर्षीय विनोद खरेल भने २ लाख ५० हजार धरौटीमा छुटेका छन् ।
राजनीतिक शक्तिको आडमा दुई महिनादेखि पक्राउ नपरेका लागूऔषधका मुख्य कारोबारी खरेललाई भदौ २८ गते स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । जेनजीको आन्दोलन भएको दिन भदौ २४ गते उनी घर आएका थिए ।
जेनजीको आन्दोलनका क्रममा अरु थुनुवासंगै हिरासतबाट भागेका खरेलका कामदार घिमिरेले हिजो प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । राजनीतिक शक्तिको आडमा अवैध धन्दा गर्दै आएका खरेलको गोदाममा छापा मारी गत साउन १ गते प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधीजन्य लागूऔषध बरामद गरेको थियो ।
प्रहरीले उनको गोदामबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल १,०३,८००, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन– १८७० एम्पुल, ट्रामाडोल एण्ड एस्टामाइनोफेन ट्याब्लेट ४०५०, डिसाइक्लोमिन ट्याव्लेट ९७,०००,सिल्डेनेफिल ट्याव्लेट ८,९०० र कम्बीप्याक अफ माइफेप्रिस्टोन ट्याव्लेट – ७,६५० बरामद गरेको थियो ।