२०८३ बैशाख ३ गते , विहीबार

तातोपानी र केरुङ नाका बन्द हुँदा सीमापारि रोकिए दशैँका सामान

sajilo news
रासस
२०८२ आश्विन ७ गते , मंगलबार
तातोपानी र केरुङ नाका बन्द हुँदा सीमापारि रोकिए दशैँका सामान

नेपाल-चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दशैँको सामान बेच्न समस्या भइरहेको गुनासो व्यवसायीले गरेका छन्।

नेपालचीन जोड्ने प्रमुख दुई नाका अवरुद्ध हुँदा दशैँका लागि ल्याइएका सयौँ कन्टेनरका सामान नाकामा रोकिँदा समस्या भइरहेको व्यवसायी बताएका हुन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कुमार कार्कीले दशैँमा नेपाल-चीन जोड्ने दुई प्रमुख नाका अवरुद्ध हुँदा सामान नाकामा आएर रोकिएका बताए। गत असार २४ गते नेपाल-चीन सिमानामा बग्ने लेन्दे खोलामा आएको बाढीले मितेरी खोलाको पुल बगाउनुका साथै पासाङल्हामु राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। मितेरी पुल नबन्दा अहिले पनि यो राजमार्ग सञ्चालनमा आएको छैन।

साथै विगत एक महिनादेखि सिन्धुपाल्चोकको तातोपानी नाका पनि अवरुद्ध भएको छ। राजधानी काठमाडौँबाट सिन्धुपाल्चोकको तातोपानी जोड्ने अरनिको राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यो बाटोसमेत सञ्चालन हुन नसक्दा सामान नाकामा रोकिएका निवर्तमान अध्यक्ष कार्कीले बताए।

राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोज श्रेष्ठले दुवै नाका बन्द भएपछि लत्ताकपडा र कच्चापदार्थ नआउँदा उद्योगी व्यवसायी मर्कामा परेका बताए। उनका अनुसार हाल तातोपानी नाकामा तीन हजारभन्दा बढी र केरुङ नाकामा एक हजार ५०० भन्दा बढी कन्टेनर सामग्रीसहित रोकिएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले दशैँको नजिक बाटो बन्द हुँदा व्यवसायीको चिन्ता बढेको बताए। ‘जेनजी प्रदर्शनका कारण समयमा नाकाबाट सामान ल्याउन नसक्दा व्यवसायीहरू समस्यामा परेका छन्’, उनले भने।

दशैँमा सामान नआउँदा व्यवसाय सञ्चालनमा समस्या भइरहेको व्यापारीको भनाइ छ। समान अभाव हुनुका साथै भएका सामान महँगोमा खरिद गर्नु परेको ग्राहकले गुनासो गरेका छन्। 

काठमाडौँको कीर्तिपुरबाट न्युरोडमा सामान किन्न आएका हीराकाजी महर्जनले यसपटक गत वर्षको तुलनामा लत्ताकपडा महँगो भएको बताए। 

सम्बन्धित समाचार