झापामा एकै दिन बेपत्ता भएका ६ जना कहाँ गए ?
झापाबाट बेपत्ता हुनेहरूको सङ्ख्या बढ्दै गएको छ । हिजो एकैदिन ६ जना हराएको प्रहरीलाई निवेदन परेको हो । हिजो बिहान ८ बजे वैदेशिक रोजगारमा रहेका कनकाई-४ नवज्योति टोल बस्ने बबिन खड्काकी श्रीमती वर्ष २० की पुनम खड्काले कोही कसैलाई केही जानकारी नगराई साथमा ३ वर्ष छोरा सत्यम खड्कालाई लिई घरबाट गएकोमा गाउँघर, छरछिमेक, आफन्त, नातागोता समेतमा खोजतलास गर्दा हालसम्म फेला परेकी छैनन् ।
त्यस्तै बुद्धशान्ति-३ बुधबारे बस्ने उमेशजंग राईका छोरा वर्ष १७ का उज्ज्वल राई असोज ७ गतेदेखि बेपत्ता छन् । सो दिन बिहान ६ः३० बजे घरमा कोही कसैलाई जानकारी नगराई हिँडेकोमा हालसम्म सम्पर्कमा नआई बेपत्ता नै रहेका छन् ।
त्यस्तै हिजो बिहान अन्दाजी ९ः३० बजे मेचीनगर-१५ बस्ने सोम मुर्मुकी छोरी मानसिक सन्तुलन ठिक नभएकी वर्ष २० की अन्जु मुर्मु घरबाट इटाभट्टा हुँदै उर्लाबारी जान्छु भनी हिँडेकोमा हालसम्म घर फर्किएकी छैनन् ।
त्यस्तै शिवसताक्षी- ३ पाराबारी बस्ने सुफल मर्डीकी श्रीमती वर्ष–३० की जिना मर्डी असोज ४ गतेदेखि बेपत्ता भएकी छन् । आफ्नै घरबाट कोही कसैलाई केही नभनी निस्केर गएकोमा हालसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ ।
त्यस्तै हिजो दिउँसो ४ः३० बजे कनकाई-५ तुलसीवारि बस्ने कासिना श्रेष्ठको घरमा सानैदेखि बस्दै आएका वर्ष १४ का सुजन हेमरम (सुस्त मनस्थित भएका) कोही कसैलाई केही जानकारी नगराईकन घरबाट हिँडेकोमा हालसम्म फर्किएका छैनन् । हुलियासहित निवेदन परेपछि बेपत्ता हुनेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।