२०८३ बैशाख ३ गते , विहीबार

जापानलाई ५ विकेटले हराउँदै नेपाल बन्यो समूह विजेता

sajilo news
झापा
२०८२ आश्विन २४ गते , शुक्रबार
जापानलाई ५ विकेटले हराउँदै नेपाल बन्यो समूह विजेता

आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। 

ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। 

नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। २१ बलमा १ चौका र ४ छक्कासहित ३८ रन बनाएका हुन्। नेपालले ४.५ ओभरमा ओपनर ब्याटर कुशल भुर्तेलको विकेट गयो। उनले २१ बलमा३ चौकासहित २१ रन बनाएर क्याच भए। नेपालले पावरप्लेमा १ विकेट गुमाउँदै ४५ रन बनाएको थियो।

७.२ ओभरमा नेपालले दोस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमायो। सन्दीप जोरा ५ र कुशल मल्लले ४ रन बनाउँदै पेभेलियन फर्किएका थिए। कप्तान रोहित कुमार पौडेलले १९ बलमा १ चौकासहित १८ रन बनाए। 

१४ ओभरमा नेपालले ५ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो। छैटौँ विकेटका लागि गुल्सन झा र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४२ रनको अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाए। दीपेन्द्र सिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे। जापानका लागि शोमा सल्तारले २ विकेट लिँदा, रियो साकुरानो थोमस, सबाओरिस रविचन्द्रन र डिक्लान सुजुकीले १–१ विकेट लिए। 

पहिलो इनिङ्समा ब्याटिङ गरेको जापानका लागि कप्तान केन्डेल काडोवकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। पावरप्लेमा १ विकेट गुमाउँदै ३१ रन बनाएको थियो। 

८.२ ओभरमा जापानले १ विकेट गुमाउँदै ५० रन पूरा गर्‍यो। १० ओभरमा ७० रन पूरा गरेको जापानले १२.५ ओभरमा ९७ रन बनाउँदा दोस्रो विकेट गयो । फ्लेमिङ र इस्मान रहमानले जापानका लागि ८६ रनको ठूलो साझेदारी गरेका थिए। इस्मानले २५ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए। १३.५ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो। बेन्जामेन डेभिसले १७ रन बनाए। 

नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए। जापानका २ ब्याटर रन आउट भए। समूह 'बी'को अन्तिम खेलको रूपमा रहेको यो खेल जित्दै नेपाल २ अंक सहति सुपर सिक्समा प्रवेश गरेको छ।आजको खेलमा नेपालसँग हार बेहोरे पनि जापानले सुपर सिक्समा स्थान बनाइसकेको छ। 

समूह 'बी'मा रहेको कुवेत भने नेपाल र जापान दुवैसँग पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ। नेपालले समूह 'बी'को विजेताको रूपमा समूह 'ए'को विजेता यूएईसँनग आइतबार सुपर सिक्सको खेल खेल्नेछ। 

सम्बन्धित समाचार