दमक प्रहरीबाट लुटिएको अर्को हतियार फेला
जेनजी आन्दोलनका क्रममा दमक प्रहरीबाट लुटिएको अर्को हतियार फेला परेको छ । आज बिहान अन्दाजी ७ः३० बजे दमक –५ धनेश्वर मन्दिरको पूर्वपट्टिको गेटनजिक जेनजी आन्दोलनका बेला लुटिएकामध्ये .३०३ मार्क ३ राइफल एक थान फेला परेको हो । सो बन्दुक बेवारिसे अवस्थामा स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए । उक्त हतियार इलाका प्रहरी कार्यालय दमक ल्याई राखिएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाटै लुटिएको एसएलआरको ५५ राउन्ड गोली दुई दिनअघि कमलमा फेला परेको थियो । कमल गाउँपालिका–७ रंगपुर बस्ने ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा एसएलआरको गोली ७.६२ एमएम ५५ राउन्ड भेटेका थिए ।
जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार , ५६९० वटा गोली र १८० सेल अश्रुग्याँस गायब भएको थियो । त्यसमध्ये एउटा हतियार र ५५ राउन्ड गोली मात्र भेटिएको हो । अरू हतियार आन्दोलनकारीहरुसंगै रहेको छ ।